धरानः प्रदेश नम्बर १ मा रहेका पर्यटकिय गन्तव्यहरुको प्रोडक्ट तयार गर्नका लागि १० वर्षे गुरुयोजना तयार गर्न प्रदेश सरकार अघि बढेको प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले बताउनुभएको छ ।
पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न अभियान नै संचालन गरेको सेक्ष ट्राभलिङको ८ औं वार्षिकोत्सवको अवसरमा सेक्ष पर्यटन पत्रकारिता सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको अवसरमा मुख्यमन्त्री राइले विज्ञहरुको उपस्थिती र सल्लाहबाट गुरुयोजना तयार गरेर प्रदेशका सम्भावित पर्यटकिय गन्तव्यहरुको प्रोडक्ट तयार गर्ने, प्याकेजिङ गर्ने ब्राण्डिङ गर्दै बिक्रि गर्ने योजनामा प्रदेश सरकार अघि बढेको उनले बताए ।
उनले भने, समृद्धि नेपाल र सुखी नेपालीको आकांक्षाको बाटोमा छौं, पर्यटनमा त्यसको सम्भावना छ, त्यसैले २०२० लाई पर्यटन वर्षको रुपमा घोषणा गरेको छ । सफल तुल्याउन क्रियाशील छौं, सिंगो नेपालनै महासंग्रहालय हो, नेपाल जानै पर्ने अनुसन्धान गर्नै पर्ने नेपालको मौलिक पहिचान हो ।’ संघीय सरकारले घोषणा गरेको पर्यटन वर्ष मार्फत नेपाललाई चिनाउन अघि बढि रहेको उनको भनाई छ । तर कोरोना भाइरस लगायतका घटनाले केही प्रभावित पारे पनि अभियानमा निरन्तर लागि परेको उनले बताए ।
पर्यटकिय गन्तव्यहरुलाई प्याकेजिङ, ब्राण्डिङमा केन्द्रीत बनाउन योजना बनाउन सकिए तिब्र गतीमा प्रदेशलाई अघि बढाउन सकिने उनले विश्वास व्यक्त गरे । उनले भने, प्रदेशमा थुप्रै पर्यटकियको सम्भावना छ, जलपर्यटन, सांस्कृतीक, प्राकृतिक पर्यापर्यटनको सम्भावना छ, ती सम्भावनालाई राम्रो प्रोडक्ट बनाएर प्याकेजिङ गर्ने र बिक्रि गर्न सके रोजगारीको शिर्जना गर्न सक्छौं ।’ पर्यटन विकाश समितीको छिट्टै बैठक बसेर विभिन्न योजना बनाउने उनले बताए ।
३ जना पत्रकार सम्मानित
विगत ८ वर्ष देखि संचालनमा भएको सेक्ष ट्राभलिङले ६ वर्ष अघि देखि शुरु गरेको पर्यटन पत्रकारिता सम्मान तथा पुरस्कारबाट धरान, इटहरी र पाँचथरका पत्रकारहरु सम्मानित भएका छन् ।
३ वर्ष देखि रोकिएको सम्मान तथा पुरस्कार यस वर्ष एकै चोटि ३ जना पत्रकारलाई प्रदान गरिएको छ । शनिबार सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा विक्रम सम्वत २०७४ को पर्यटन पत्रकारिता सम्मान तथा पुरस्कारबाट कोशीपत्र दैनिकका कार्यकारी सम्पादक दिनेश गजमेर सम्मानित तथा पुरस्कार भएका छन् । उनी संगै २०७५ को पुरस्कार पाँचथरका गिरीराज सापकोटा र २०७६ को पुरस्कार इटहरीका बिराट अनुपमलाई प्रदान गरिएको छ । तिनै जनालाई नगद १० हजार रुपैया सहित सम्मान तथा पुरस्कृत गरिएको हो । सम्मानित पत्रकारहरुलाई प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई सहित प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेका हुन् ।