विराटनगरः आइतबार बसेको प्रदेश नम्बर १ को प्रदेशसभा बैंठकमा प्रमुख विपक्षी कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले संघबाट कर्मचारी टुरिस्ट जस्तो गरि केही समयका लागि प्रदेशमा आउने र पैसा कुम्लाएर फर्किएर काठमाण्डौंमा महल ठड्याउने गरेको आरोप लगाएका छन् ।
प्रमुख सचेतक कार्कीले प्रदेशमा कर्मचारी नभएर हैरानी भएको तर आउनेहरु समेत टुरिस्ट आउने जाने गरेको भन्दै टिप्पणी गरे । कार्कीले भने,‘‘प्रदेश विकासको कुरा गर्दा कर्मचारी छैनन् भन्ने सुन्दैछौं । अस्पतालमा डाक्टर छैनन् । लोकसेवामा हामीले किन नियुक्ति गरेको हो ? कर्मचारी टुरिस्ट जस्तो आउँछन् । प्रदेशमा कमाई गर्छन अनि काठमाडौमा घर बनाउन जान्छन् ।’’ उनले कर्मचारी प्रदेशमा कमाई गर्न मात्र आउने गरेको आरोप लगाए ।
‘‘प्रदेशमा लुट्न मात्र आए जस्तो भयो । प्रदेश सरकारलाई केन्द्रीय सरकारसंग रोएर कर्मचारी चाहियो भन्नुहोस भन्न चाहन्छु’’, कार्कीले भने,‘‘नत्र यो अवस्था कहिलेसम्म बोहोर्ने ।’’ उनले विपक्षीले उठाएको कुरालाई सदनमा सपथ नगरेका धेरै मन्त्रीहरुले पेल्ने गरेको भन्दै सत्तासीन सांसदलाई कटाक्ष गरे । कार्कीले कोरोनाले विश्व आक्रान्त भएको बेलामा प्रदेश सरकारले पनि चासो दिएर सतर्कता अपनाउनु पर्ने सुझाव दिए । भने,‘‘नेपाल सरकारले गरेन गरेन । विपद् भनेको पाँचलाख मात्र दिने हो र ? विपद्को बैठक बसेर के गर्ने के सुरक्षा अपनाउने भन्ने होइन र ?’’ नेकपाकी सांसद बसन्तीदेवी चौधरीले विराटनगरबाट जोगबनी जाने बाटो वडा नम्बर १२ र १३ बीचको सडक निर्माणमा ध्यान दिन भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गरिन । जनप्रतिनिधि घच्घच्याए पनि सडक निर्माणमा खासै चासो नभएको गुनासो गरिन ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाम्फे सदनमा शुन्य समयमा उठाइएका सवालको जवाफ दिने नगरिएको भन्दै सरकारको आलोचना गरिन । भनिन्,‘‘मुख्यमन्त्रीबाट जवाफ आउनु पर्छ । आठ महिना चालू आबको भयो बाँकी चार महिना छ । बजेट खर्च तीस प्रतिशत पनि किन हुन सकेको छैन ? कानुनको अभावमा नभएको हो भने खर्च सम्बन्धी कानुन बनाउन जरुरी छ ।’’ उनले धरान–मुलघाट सुरुङमार्ग सम्भाव्यता अध्ययन गर्ने भनेको र त्यो हुनुपर्ने माग गरिन । ‘‘त्यो काम चाँडो थालियोस । तीस किलोमिटर छोटो हुन्छ,’’ तुम्बाहाम्फेले भनिन्,‘‘सुरुङ मार्गले बहुआयामिक हिसाले पनि खर्च बच्दछ । ताप्लेजुङ, पाँचथर, तेह्रथुमका बासिन्दालाई प्रदेश राजधानी आउन पनि सहज हुन्छ ।’’
कांग्रेसकी बिन्दिया कार्कीले एक अवला महिलामाथि काठमाडौमा प्रहरीले गरेको कुटपिट अति नै निन्दनीय भएको सुनाइन । भनिन्,‘‘एउटा आतंककारीलाई पनि त्यसरी कुटपिट गरिदैन होला जसरी महिलालाई गरिएको छ ।’’ कांग्रेसकै ज्योती सुब्बाले विकास निर्माणमा गति दिन माग गरिन ।सदनमा जारी बालबालिकाको अधिकार सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा सांसद कुलप्रसाद साम्बा, जयराम यादव, शान्त पौडेल लगयतले सहभागीता जनाएका थिए ।