विराटनगर/ घरनक्सासहित नगरपालिकाको कार्यालयमार्फत् पाउने सेवा लिन पुगेकी मोरङ उर्लाबारीनिवासी मनमाया तामाङको घरनक्सा शाखामा घरै भेटिएन । सबै प्रक्रिया पूरा भएको कागजातसहित उर्लाबारी नगरपालिकाको घरनक्सा शाखा पुग्दा तामाङ मात्रै होइन फाँटवाला कर्मचारीलाई समेत घरनक्सा पास भएको विवरण उल्लेख भएको ढड्डा पल्टाउँदैमा हैरान भयो ।
नगरपालिकाबाट घरनक्सा पास भइसकेको कागजातको विवरण, राजस्व बुझाएको रसिद, घर निर्माणका लागि अपनाइने चरण र सँधियारको सर्जिमिन मुचुल्का कागजात समेत तामाङसँग थिए । त्यति मात्रै होइन नगरपालिकाको अधिकार प्राप्त अधिकारीले हस्ताक्षर गरेको कागजातसहित तामाङ घरनक्सा शाखामा पुग्दा आफू बस्न थालिसकेको घर निर्माण भएको विवरण भेटिएन ।
नक्सा नै कीर्ते
प्रक्रिया पूरा भएको तर शाखामा घर बनेर पास भएको भन्ने बेहोरा नदेखिएपछि तामाङले नगरपालिकाका प्रशासकीय अधिकृत रवीन्द्रप्रसाद वस्तीलाई कागजात देखाउँदा थाहा भयो घर बनेको नक्सा नै कीर्ते थियो ।
बाहिरै नगरपालिका खडा गरेर सरकारी कागजात नै कीर्ते गरेर नक्सा बनाउने काम भएका कारण सेवाग्राहीले निर्माण गरेका घरको रेकर्ड नगरपालिकाको सम्बन्धित शाखामा फेला नपरेको हो ।
घरनक्सा पास गराएर राजस्वबापतको रकम समेत असुल्दै आएका व्यक्ति रहेछन् उर्लाबारी–४ निवासी तीर्थ बस्नेत । बस्नेतले आफ्नो कन्सल्ट्यान्टको मात्रै काम नगरी इन्जिनियर, नगरपालिकाका मेयर, प्रशासीिय अधिकृत, घरनक्सा शाखा अधिकृत समेतको कीर्ते कागजात बनाएर बाहिरबाहिरै घरनक्सा पास गर्दै आएको खुलेपछि इलाका प्रहरी कार्यालय उर्लाबारीको नियन्त्रणमा परेका छन् ।
सरकारी कागजात कीर्ते गरी ठगीे आरोपमा पक्राउ परेका बस्नेतको उर्लाबारी–४ मा इनोभेटीभ डिजाइनिङ कन्सल्टेन्सी छ । प्रहरी नियन्त्रणमा परी अनुसन्धानका क्रममा बस्नेतले आफूले पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानबाट कम्प्युटर इन्जिनियरिङ (२०६२–२०६४), त्रिभुवन विश्वविद्यालयको सम्बन्धमा सञ्चालित काठमाडौं इन्जिनियरिङ कलेज काठमाडौंबाट ब्याचलर अफ इन्जिनियरिङ (२०६५–२०६९) अध्ययन गरेको बयानमा बताएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिम्सिनाले जानकारी दिए ।
तर, बस्नेतले अध्ययन गरेको विषयको प्रमाणपत्र भने छैन । प्रहरी निरीक्षक तिम्सिनाका अनुसार २०७१ सालमा हराएको भनिएको उक्त कागजात अहिलेसम्म पनि नबनाएको बयानमा उल्लेख छ । आफ्नो कन्सल्टेन्सी भने २०७० फागुनमा दर्ता भएको प्रमाणपत्र रहेको दाबी बस्नेतले गर्दै आएको निरीक्षक तिम्सिना बताउँछन् ।
उर्लाबारी नगरपालिकाले अधिकार प्राप्त अधिकारीको हस्ताक्षरदेखि कागजात र छापसमेत कीर्ते गरेर बनेका २८ वटा घरको नक्सासहित प्रहरीलाई अनुसन्धानका लागि उजुरी दिएको छ । प्रशासकीय अधिकृत वस्तीका अनुसार बस्नेतको कन्सल्टेन्सीले घरनक्साको काम गर्न पाउने भए पनि अधिकारप्राप्त व्यक्तिमार्फत् रुजु गराउनुपर्ने, नगरपालिकामा रेकर्ड देखिने गरी कागजातको प्रक्रिया पूरा गर्नुपर्ने र राजस्वबापतको रकम समेत घरनक्सा शाखा अन्तर्गतको खातामा देखिनुपर्ने हुन्छ । तर, बस्नेतले भने छुट्टै नगरपालिकाको कार्यालय स्थापना गरेर घरनक्सा बनाउँदै राजस्व समेत आफैं बुझेर प्रमाणपत्र सेवाग्रहीलाई दिँदै आएको देखिएको छ ।
सरकारी कागजात कीर्ते गरेको आरोपमा पक्राउ परेका बस्नेतलाई जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान भइरहेको तिम्सिनाले जानकारी दिएका छन् ।