विराटनगरः नोवेल कोरोना (कोभिड १९) को संक्रमण फैलन नदिन र सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातवटै प्रदेशमा टोली परिचालन गरेकोमा प्रदेश १ मा भने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख भोगेन्द्रराज डोटेलको नेतृत्वमा आएको टोली साेमबारविराटनगर आईपुगेको छ ।
संघीय प्रतिनिधिमण्डल प्रदेश राजधानी विराटनगरमा आएर सरकारी अस्पतालमा गरिएको तयारीबारे समेत जानकारी लिएको छ ।
संभावित संक्रमण र तयारीबारे टोलीले प्रदेश सरकारको सामाजिक विकास मन्त्री जीवन घिमिरे र मन्त्रालयका प्रतिनिधिसंग छलफल गरेको छ । मन्त्री घिमिरेले टोली समक्ष प्रदेश सरकारले सतर्कता अपनाउन सचेतनामुलक कार्यक्रममा समेत जोड दिएको बताए ।
प्रदेश १ का संखुवासभा, ताप्लेजुङ र सोलुखुम्बु चीनसँग सिमाना जोडिएको छ । ती जिल्लाका उत्तरी नाका भएर आउजाउ कम भएपनि ओलाङचुङ्गोला र किमाथाङ्का नाकाबाट भने चिनिया नागरिकलाई प्रवेश हुने गरेको छ । ती नाकामा आउजाउमा कडाइ गरिएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिम क्षेत्रमा राखेको छ ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख डा. सुरेश मेहताले भने,‘‘हामीले यता प्रदेशमा गरिएको तयारीबारे टोलीलाई जानकारी गराएका छौं ।’’ मेहताका अनुसार टोलीले नमूनाको रुपमा प्रदेश १ मा ब्यक्तिगत सुरक्षाको सामग्री ५ थान र इन्फ्रारेड थर्मामिटर त्यति नै लिएर आएको जनाए ।
प्रदेश सरकारले यहाँका ६ वटा अस्पतालमा आईसोलेशन बेड छुट्याएको थियो । तर हाललाई कोशी अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा केरोनाको उपचारको तयारी भएको मेहताले जानकारी दिएका छन् ।
भने,‘‘कोशी अस्पतालमा १३ वटा बेडलाई सुरक्षित रुपमा आईसोलेसन वार्डको रुपमा राखिएको छ । बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आवश्यकता अनुसारको वार्ड तयारी अवस्थामा राखिएको छ ।’’
प्रदेश स्वास्थ्य निर्देशनालयले सूचना सम्प्रेषण, सीमाक्षेत्रमा चेकजाँचमा कडाइ, आइसोलेसन वार्डको व्यवस्थापन, स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको र कडा खालको संक्रमण देखिएका बिरामीहरुको निगरानीलगायतको तयारी गरेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव मेहताले बताएका छन् । टोलीले नेपाल–भारत सीमाको जोगबनी नाकाको पनि निरीक्षण गरेको छ ।