विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले महिला तथा आदिवासी जनजातिलक्षित लोक सेवा तयारी कक्षा मङ्गलबारदेखि शुरु गरेको छ । तयारी कक्षा उद्घाटन कार्यक्रमका अधिकांश वक्ताले निःशुल्क दिइएको तयारी कक्षा भनेर कम महत्वको नठान्न अनुरोध गरे ।
इष्ट नेपाल टेक्निकल कलेजले महिलालक्षित र मझेरी मिडिया प्रालिले आदिवासी जनजातिलाई लक्षित गरी तयारी कक्षा निःशुल्क सञ्चालन गर्न लागेको नगरपालिकाले जनाएको छ ।
तयारी कक्षा उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै सुन्दरहरैंचा नगरपालिकाको महिला तथा बालबालिका उपशाखा प्रमुख सुशीला अधिकारीले निःशुल्क लिन पाएको कक्षा भनेर बेवास्ता गर्ने र कम महत्व दिने कार्य गर्न नहुने बताइन् । निःशुल्क तयारी कक्षा लिने पाइने भन्ने आशयले मात्रै कक्षा लिन लागेको भए त्यसो नगर्न र नियमित कक्षामा आउन असम्भव हुने हो भने आफ्नो ठाउँमा अरु नै व्यक्तिलाई कक्षा लिनको लागि सिफारिश गर्न पनि उनले अनुरोध गरिन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर १२ का अध्यक्ष रोशन ढकालले लक्षित वर्गका यस्ता कार्यक्रमबाट लक्षित समुदायले यथेष्ट उपयोग गर्नुपर्ने बताए । नगरले राखेको उद्देश्य पूरा गर्न आयोजक, प्रशिक्षक र प्रशिक्षार्थीले सहयोग गर्नुपर्ने उनले उल्लेख गरे । यस्ता कार्यक्रमले उचित प्रतिफल दिन नसके अर्काे वर्षदेखि यस्ता कार्यक्रम कटौती हुने उनको भनाइ थियो । यस्ता तालीमबाट पर्याप्त ज्ञान लिन सके कार्यक्रमको उद्देश्य पूरा हुने पनि उनले उल्लेख गरे ।
वडा नम्बर १२ का सचिव अनिल पोखरेलले यहाँ तयारी कक्षा लिँदैमा पास हुने ग्यारेन्टी नहुने बताए । प्रशिक्षार्थीले जति बढी मिहिनेत गर्याे त्यति नै आफू सफल हुने उनको भनाइ थियो । नियमित कक्षा लिएर प्रशिक्षकले दिने टिप्स र पहिले परीक्षा दिने साथीसँगको अन्तरक्रियाबाट लेख्ने तरिका र पढ्ने तरिका थाहा हुने जसले गर्द परीक्षामा सफल हुन सहयोग पुग्ने उनले जनाए ।
आदिवासी जनजाति महासङ्घ सुन्दरहरैंचाका अध्यक्ष सुमन राईले लक्षित वर्गको लागि नगरपालिकाले छुट्याएको बजेटको सदुपयोग गर्न अनुरोध गरे । निःशुल्क तयारी कक्षा भएको हुनाले कक्षा लिइहालौँ न त भनेर मात्रै यस्तो कक्षा लिइएको भए त्यो प्रवृत्तिले आफूलाई मात्रै नभई सोही कारण अर्काे वर्षदेखि बजेट काटिएमा लक्षित वर्गलाई नै घाटा हुने उनको भनाइ थियो ।