खोटाङः खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित कालापानीका स्थानीय उपभोक्तालाई सुनकोशी नदीको पानी तानेर वितरण गरिएको छ । लामो समयदेखि घण्टौँ टाढा रहेको कुवा तथा खोलाबाट बोकेर ल्याएको पानी उपभोग गर्दै आएका कालापानीका ११५ घर स्थानीयवासीका लागि सुनकोशी नदीबाट पम्पिङ प्रविधि अपनाएर निकालिएको पानी वितरण गरिएको हो ।
विसं २०७२ चैत ११ गते शिलान्यास गरिएको रसुवाघाट–कालापानी खानेपानी आयोजनाको काम पूरा भएसँगै नदीको पानी तानेर गाउँमा वितरण गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर राउतले बताए। नेपाल सरकार खानेपानी तथा सरसफाइ मन्त्रालयको अनुदान तथा उपभोक्ताको रु ३६ लाख बराबरको श्रमदान गरी रु एक करोड ८० लाख लागतमा आयोजनाको काम सम्पन्न गरिएको हो ।
सुनकोशीस्थित रसुवाघाटबाट पम्पिङ प्रविधि अपनाएर निकालिएको पानी ९७ धारामार्फत कालापानीका स्थानीयवासीलाई वितरण गर्ने भनिए पनि ६१ मात्र धारा निर्माण गरिएको छ । परीक्षणका क्रममा रहेको खानेपानी आयोजना केही समयपछि औपचारिकरूपमा उद्घाटन गरिने निर्माण उपभोक्ता समितिले जनाएको छ ।
गत भदौ ५ गते परीक्षणस्वरुप गाउँमा पानी तानिएको खानेपानी आयोजना पुस २४ गतेदेखि निरन्तर सञ्चालन ल्याइएको निर्माण उपभोक्ता समितिका अध्यक्ष राउतले बताए । “आयोजनाबाट गाउँमा खानेपानी निरन्तर वितरण गरिएको छ”, उनले भने, “अहिले आयोजनाको पानी राम्रो चलिरहेको छ । दुई÷तीन सातामा बाँकी काम सम्पन्न गरेर औपचारिक उद्घाटन गर्ने तयारी गरिनेछ ।”
पम्पिङ प्रविधिको खानेपानी आयोजनाका लागि नदी र गाउँको बीचमा दुई आरभिटी ट्याङकी तथा सबैभन्दा माथि कालापानी गाउँमा ३० हजार लिटरको आरसिसी ट्याङ्की निर्माण गरेर सञ्चालनमा ल्याइएको छ । आयोजनाका लागि २५ केभीको तीन विद्युत् ट्रान्सफर्मर जडान गरिएको जनाइएको छ ।
आयोजनाका लागि रसुवाघाटस्थित सुनकोशी नदी किनारमा मेसिन राख्ने घर निर्माण गरेर पानी तान्ने मेसिन जडान गरिएको छ । सो बोरिङस्थलबाट विद्युत्को सहायतामा ५० एमएमको ६०० मिटर लामो जिआइ पाइपमार्फत पानी तानिएको छ । नदी किनारमा निर्माण गरिएका पम्पिङ हाउसको झ्याल तथा ढोका हाल्ने, घेराबार लगाउनेबाहेक अन्य सबै काम सम्पन्न भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय ओखलढुङ्गा–२ नं डिभिजन प्रमुख विजय ठाकुरले बताए । “परीक्षणका क्रममा रहेको यो खानेपानी आयोजनामा अहिलेसम्म कुनै समस्या देखिएको छैन”, उनले भने, “आगामी दिनमा पनि कुनै समस्या आउलाजस्तो लागेको छैन । थप केही दिन परीक्षण गरेर हस्तान्तरण गर्ने तयारी गरिएको छ ।”
छिमेकी वडा इन्द्रेणीपोखरीबाट ल्याइएको पानीको मुहान सुकेपछि कालापानीका स्थानीयवासी घण्टौँ हिँडेर पानीको जोहो गर्न बाध्य थिए । गाउँ र नदीबीचमा निर्माण गरिएको पहिलो र दोस्रो सप्लाइ ट्याङ्की हुँदै सबैभन्दा माथि निर्माण गरिएको मूल ट्याङ्कीमा पानी जम्मा गरेर ९७ धारामार्फत ११५ घरका ५०० भन्दा बढी उपभोक्तालाई खानेपानी वितरण गर्ने लक्ष्य साथ आयोजनाको काम थालिएको हो ।
खानेपानी समस्या चर्किएपछि कालापानीमा पम्पिङ प्रविधिमार्फत सुनकोशीको पानी तानेर वितरण गर्ने विकल्प अघि सारिएको थियो । कालापानीका स्थानीयवासी यसअघि चुहार पँधेरा, मानेखोला पँधेरा र खारखोला पँधेराबाट गाग्रो तथा भाँडामा बोकेर ल्याएको खानेपानी उपभोग गर्न बाध्य थिए । सुक्खाग्रस्त क्षेत्र कालापानीमा खानेपानीको व्यवस्था गर्न सुनकोशीबाहेक अन्य कुनै पनि पानीको स्रोत थिएन । पम्पिङ प्रविधि अपनाएर सुनकोशी नदीको रसुवाघाटबाट करीब एक हजार ८०० मिटरमाथि रहेको कालापानी गाउँमा पानी निकालिएको हो ।
गाउँमा नदीको पानी तानेर वितरण गरिएपछि लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयवासी उपभोक्ता हर्षित भएका छन् । लामो समयदेखि खानका लागि पनि पर्याप्त पानी नपाएका स्थानीयवासी पम्पिङ प्रविधिबाट आ–आफ्नो घरमै आएको पानी चौबीसै घण्टा उपभोग गर्न पाउँदा हर्षित भएका हुन् । नदीको पानी तानेर गाउँमा वितरण गर्ने उद्देश्यका साथ पम्पिङ प्रविधि अपनाइएको रसुवाघाट–कालापानी खानेपानी आयोजना जिल्लाकै पहिलो हो । उक्त आयोजनाको प्रभावकारिताका बारेमा अहिले सबैको ध्यान केन्द्रित भएको छ ।
दश स्थानीय तह रहेको खोटाङको हलेसी तुवाचुङ नगरपालिका र रावाबेँसी गाउँपालिकामा पनि पम्पिङ प्रविधिको खानेपानी आयोजना निर्माणाधीन छ । रावाबेँसी गाउँपालिकाको डुम्रेधारापानीमा सञ्चालित आयोजना तीव्रगतिमा अगाडि बढेको छ भने हलेसी तुवाचुङ नगरपालिकाको सुस्तगतिमा छ ।