इटहरीः धरान २० मा हाल रहेको विपी पार्क परिसरमा २०७५ असोज १२ मा पहिलोपटक जिप लाइनको सुपरम्यानको सफल परीक्षण भएको थियो । तर, व्यवशायिक सुरुवात भने हुन सकेको थिएन ।

धेरैले परीक्षण नै माया गरेको साहसिक खेलको व्यवशायिक सञ्चालन नहुँदा दुःखेसो गरेका थिए । आजबाट भने धरानको नयाँ स्थानमा जिप लाइन सुरु भएको छ । धरान र भेडेटारको सिमानामा रहेको भेडेटारको स्वागतद्धार देखी धरान ४ को देविधानसम्म आजबाट प्रदेश १ को पहिलो जिप लाइन सुरु भएको छ ।

आज दिउँसो प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको जिप लाइनको पहिलो अनुभव भने धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले गरिन । उपमेयर भण्डारीले धरानमा नयाँ पर्यटकीय प्रडक्ट थपिएपछि खुसी भएको प्रतिक्रिया दिइन ।

87368655_3335124543171418_5457298399642517504_n

दुई वर्षको अध्ययन र चार महिनाको निरन्तर निर्माण पछि आजबाट जिप लाइन सञ्चालनमा ल्याउन सकिएको कम्पनी वाल्डवाइड नेपाल ग्रुप प्रालीले बताएको छ । प्रालिका सदस्य विवश भण्डारीका अनुसार ३ करोडको लागतमा बनेको जिप लाइनको दुरी ६५० मिटर रहेको छ भने टेकअफ र ल्यान्डिङ स्टेसनको उँचाइ अन्तर ४३ मिटर रहेको छ ।

१६ एमएम डाइमिटरको जिप लाइन केबलको क्षमता ११ हजार ३ सय केजी रहेको छ भने हार्नेस र क्याराबिनरको क्षमता क्रमशः २२ सय र २७ सय केजी रहेको छ । क्यासिक, सुपरम्यान र टेन्डेम गरी तीन प्रकारका सेवा हुने जिप लाइनको शुल्क नेपालीलाई क्यासिक, सुपरम्यान र टेन्डेनमा क्रमशः १२ सय, १५ सय र २ हजार शुल्क रहेको छ । यही श्रेणीमा सार्क र अन्य मुलुकका नागरिकहरूलाई भने १५ देखी २२ अमेरिकी डलर सम्म लाग्ने कम्पनीका केदार थापाले बताए ।

89519132_3903449726332654_3609596614135513088_o