धरानः धार्मिक ऐतिहासिकता बोकेको धरान ४ स्थित शिवजट्टाको धार्मिक पर्यटन प्रवद्र्धन गर्न नसक्दा ओझेलमा पर्दै गएको छ । शिव जट्टालाई शिवले बास बसेको शिवकुण्डको रुपमा पनि मानिएको छ तर धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकाश गर्न नसक्दा ओझेलमा पर्दै गएको छ ।
धरान बजारबाट करिब ५ किलोमिटर उत्तर पुर्वमा अवस्थित शिवजट्टा धार्मिक पर्यटनको सम्भावना बोकेको स्थल हो । धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकाश तथा प्रचार प्रसार गर्न नसक्दा धार्मिक पर्यटन तथा प्राकृतिक पर्यटनको गन्तव्यको विकाश गर्न नसक्दा ओझेलमा पर्दै गएको हो । धार्मिक ग्रन्थमा उल्लेख भए अनुसार हिन्दुका आराध्यदेव शिवले सतीदेवीको शव बोकेर भौतारि हिड्दै गएको अवश्थामा विस्तारै सतीदेवीको शरीरको सबै अंग पतन भइसकेपछि शिवजीको चेत खुल्दा आफ्नो शरीर ज्यादै फोहोर पाए पछि उनले यही शिवजट्टाको झरनामा नुहाएको किवंदन्ती छ । नुहाउने क्रममा उनको जट्टा त्यस ठाउँमा झरेकाले नै यसलाई शिवजट्टा भनिन थालिएको स्थानीयको भनाई छ ।
धरान उपमहानगरपालिकाको वडा नम्बर ४ मा रहेको शिवजट्टामा सदैव झरना बगीरहन्छ । नजिकै शिवालय पनि छ । धरानबाट करिब ५ किलो मिटरमा पुर्व उत्तरमा रहेको यस झरनामा साउन महिनामा नुहाउदा रोगव्याधी हरण हुने विश्वास छ । कच्ची बाटो बनेपनि शिवजट्टासम्मै भने छोएको छैन । थोरै पैदल हिड्नुपर्छ । पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना भएर पनि ओझेलमा परेको ठाउँ हो शिवजट्टा । यसको प्रचार, प्रर्वद्धन र विकासमा कसैको पनि ध्यान नपुगेको स्थानीय जमानवीर राई बताउँछन् । शिव जट्टालाई शिव बास बसेकाले शिवकुण्ड पनि भनिने गरिएको उनको भनाई छ ।
केही वर्ष अघि सम्म शिवरात्रीका दिन भारतका जोगिहरु आएर धुनी बालेर ३ महिना सम्म बस्ने गर्दथे । तर पछिल्लो समय जोगिहरु आउँन छाडेका छन् । काठमाडौंको पशुपति क्षेत्र भन्दा पनि बढी शिवजट्टाको महत्व रहेको उनी बताउँछन् । धार्मीक महत्व बोकेको यस धार्मिक स्थलको प्रचारप्रसार गर्ने हो भने यहाँ पनि धेरै श्रद्धालु भक्तजनहरु आउन सक्ने राईले बताए ।
विश्वकै उदाहरणलाई हेर्ने हो भने पनि पानी प्रति पर्यटकको आकर्षण बढ्दो छ । तर धरानमै चौबिसै घण्टा पानी बगिरहेने ठाउँ हुँदा पनि त्यसलाई धरानले पहिचान गर्न नसकेको पर्यटन व्यवसायी बासुदेव बरालको भनाई छ । उनले भने, ‘धरानमा पानीको अभाव भईरहँदा शिवजट्टामा झरनाबाट पानी बगिरहेको छ, यसलाई धरानेहरुले नदेखिरहेको अवश्था छ ।’ पानीमा रमाउन चाहने पर्यटनको विकाश गर्न सम्बन्धित निकायले पनि ध्यान दिन नसकेको उनको भनाई छ । त्यहाँ सम्म जाने बाटो निर्माण र त्यसको प्रचार प्रसार गर्ने हो भने प्राकृतिक रुपमा मनोरम शिवजट्टा ओझेलमा नपर्ने उनी बताउँछन् । ‘प्रवद्र्धन गर्नुपर्छ, त्यसमा निजी क्षेत्रले लगानी गर्न सक्दैन, स्थानीय तह र पर्यटनको सरकारी निकायले नै गर्नुपर्छ’, उनले भने, ‘धरान भित्रकै झरनासँग हामी अनभिज्ञ छौं, यदि पर्यटकहरूलाई त्यहाँ पु¥याउने हो भने धरानलाई धेरै फाइदा हुन्छ ।’
धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने शिवजट्टा गर्मीको समयमा गर्मी छल्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि आकर्षण गन्तव्य वन्न सक्ने स्थानीयहरु वताउँछन । भगवान शिवको जट्टा झरेको मिथक रहेको शिवजटटा क्षेत्रमा शिवालय, पानी बगी रहने झरना र जगंल क्षेत्र रहेकाले पनि पर्यटकहरुका लागि आकर्षक केन्द्र रहेको धार्मिक पर्यटकहरुको भनाई छ ।
पर्यटकहरूलाई धरानकै शिवजट्टा झरनामा पु¥याउने हो भने धनकुटा स्थित नमस्ते झरनाको तिर्सना मेटाउन पाउँछन् भने धरानको पर्यटन विकासमा पनि ठूलो टेवा पुग्नेछ । तर, यसतर्फ पर्यटनसम्बद्ध निकाय, पर्यटनकर्मी तथा राज्यले पनि ध्यानै दिएको छैन ।