विराटनगरः भारतले नेपालतर्फका केही सिमानाका बन्द गर्न गरेको घोषणासंगै मानिसहरुमा ‘अब नाकाबन्दी लाग्यो,भारत जान पाइँदैन, किनमेल गर्न पनि रोकियो’ भन्ने त्रास र अन्योल दुबै फैलिएको छ । तर, भारत सीमाको बजार पुग्दा त्यस्तो दृश्य भने देखिदैन ।

भारतले बन्द गर्ने सूचीमा राखेको नाकामा प्रदेश १ को राजधानी विराटनगरसंग जोडिएको जोगबनी पनि परेको छ । यो घोषणासंगै विराटनगरसहित पूर्वका नेपालीमा ‘अब जोगबनी छिर्नै पाइँदैन’ भन्ने भ्रम फैलिएको छ । तर, नेपाल–भारत सीमाको यो नाका विगत झैं सामान्य छ । आज मध्यान्न १२ बजे जोगबनी नाका पुग्दा मानिसहरु नेपालबाट भारत र भारतबाट नेपालतर्फ आउने जाने क्रम निर्वाध चलिरहेको थियो ।
अपरान्हको रेल भर्खर आएर स्टेशनमा रोकिएको थियो । रेलबाट झरेका यात्रुहरु नेपाल प्रवेश गर्नेबेलामा ज्वरो परीक्षण गर्न सीमामै खोलिएको हेल्थ डेस्कमा पुगिरहेका थिए । सीमामै नेपाल सरकारले संचालन गरेको हेल्थडेस्कका कर्मचारीले यात्रुलाई ज्वरो आए नआएको र रुघामर्की लागे नलागेको परीक्षण गर्दै थिए । भारत सरकारले भारततर्फ पनि हेल्थडेस्क संचालन गरेको छ । त्यसतर्फ जाने मानिसहरुको स्वास्थ्य परीक्षण पनि निरन्तर भईरहेको देखिन्थ्यो । स्वास्थ्यकर्मीले कहाँबाट आएको र शंका लागे ज्वरोबारेको हिस्ट्री पनि लिइरहेका थिए ।
निर्वाध आउजाउ गर्ने मानिसहरुका हातमा किनमेल गरेका सरसमानका झोला देखिन्थे । मोटरसाईकल, स्कुटर र साइकल पनि उही संख्यामा वारपार गरिरहेका थिए । नेपालतर्फबाट गएका चारचक्के हलुका सवारी र उताबाट आएका गाडीहरु वारपार गरिहेका थिए ।
जोगबनी बजार संधै नै दैनिक उपभोग्य सरसमान किनमेल गर्न पुग्ने नेपालीहरुको कारण भिंडभांड हुने गर्छ । आइतबार पनि त्यस्तै देखिन्थ्यो । पशलेहरु सामान बेच्न ब्यस्त थिए, उपभोक्ता दाममा मोलमलाई गर्न । खासगरी दाल, चामल, नुनभुटुन, फलफूल र लत्ताकपडा खदिर गर्न जानेहरुको लागि यो बजार चर्चित छ । प्रदेश १ का धेरै ठाउँबाट नेपालीहरुको रोजाईको किनमेल गर्ने सिमाको बजार बिहारतिर जोगबनी र पश्चिमबंगालतिर पानीट्यांकी हो । देशका मुख्य भन्सार कार्यालयमध्ये एक रानी भन्सार कार्यालय पनि यही नाकामा पर्छ । यहाँबाट दैनिक करिब तीनसयको संख्यामा मालवाहक ट्रक नेपाल भित्रने गर्छन । औद्योगिक कच्चा पदार्थ बोकेका सवारी साधन नेपालतर्फ आउने क्रम सामान्य रुपमै विगत झैं चलिरहेको छ ।
विराटनगर भन्सार कार्यालयले मालवाहक सवारी आउने क्रम विगत झैं सामान्य रुपमा चलिरहेको जानकारी दिएको छ । ‘‘ढुवानीमा समस्या छैन, संधै झैं चलिहरेको छ,’’रानी भन्सार कार्यालय विराटनगरका प्रवक्ता सुशील शर्माले भने,‘‘भारतको सूचनाले तेस्रो देश र उसले प्रतिबन्ध लगाएका देशका पर्यटक र मानिसहरुलाई यताबाट आउजाउ गर्न रोकेको हो । नेपालीलाई होइन । यताबाट जाने र उताबाट नेपालीहरु आउने क्रम चलिरहेकै छ ।’’ शर्माले जोगबनी र सीमाको बजारको जनजीवन सामान्य रहेको सुनाए । मालवाहक गाडीलाई रोक्ने,आउन नदिने वा नाकाबन्दी लगाउने भन्ने भारत सरकारको नीति नभएको र मानिसहरुमा भ्रम बढेपनि त्यो सत्य नभएको शर्माले प्रस्ट्याए ।