जनकपुरधाम: प्रदेश २ को प्रदेश सभा बैठक विहानैबाट सुरु भएको छ । मंगलबार विहान ८ बजे नै बोलाएको बैठकले आज प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लगाउँने बताइएको छ ।

सभामुख सरोज कुमार यादवका अनुसार नाम र राजधानीको टुंगो गोप्य मतदानबाट लगाइने छ । मतदान सुरु हुनुअघि सांसदहरुलाई बोल्न दिइने उनले बताए । बोल्न चाहने सांसदलाई ५ मिनेटको समय उपलब्ध गराइनेछ । छलफल सकिएलगत्तै मतदान हुने सभाुमख यादवले बताए । यसका निम्ति सबै तयारी भइसकेको उनको भनाइ छ । प्रदेशको स्थायी राजधानी जनकपुरधामलाई नै राख्ने विषयमा यसअघि नै सहमति भइसकेको छ । यद्यपि नामको विषयमा सहमति हुन सकेको छैन ।

प्रदेशका चार दलले तीन वटा अलग–अलग नाम प्रस्ताव गरेका छन् । सत्तारुढ समाजवादी र राजपाले प्रदेशको नाम ‘मधेश’, नेकपाले ‘जानकी’ र कांग्रेसले ‘मिथिला–भोजपुरा’ राख्नुपर्ने भनेर प्रस्ताव दर्ता गराएका छन् ।
पछिल्लो पटक नाममा सहमति जनाउन धेरै पटक बैठक बसे पनि सहमति हुन नसकेको सभामुख यादवले बताए । राजनीतिक सहमति भए पनि मतदान गराउनैपर्ने भएका कारण चुनाव गराउन लागिएको हो ।