धरानः सेहरा खोलाको भागबाट ढुङ्गा, बालुवा उत्खनन् गर्न ठेक्का लिएको पाथीभरा कन्स्ट्रक्सनले धरान क्षेत्रबाट २८ हजार ९ सय ३ घनमिटर क्षेत्रफलमा अवैध रुपमा उत्खनन् गरेको पाइएको छ । इटहरी उपमहानगरपालिकाको क्षेत्रमा रहेको खोलाजन्य वस्तु निकाल्ने ठेक्का लिएका ठेकेदारले कानून मिचेर अवैध रुपमा धरान उपमहानगरपालिका क्षेत्रको खोलामा उत्खनन गरेको पाइएको हो ।
इटहरीको क्षेत्रमा पर्ने करिब ६० लाख रुपैया बराबरको खोलाजन्य वस्तु उत्खनन् भएको प्राविधिकहरुको भनाई छ । इटहरी र धरानको सिमा क्षेत्रमा पर्ने धरान ६ स्थित पानवारी सामुदायिक वन उपभोक्ता समुहको नजिकै रहेको सेहरा खोलामा धरानले संरक्षित क्षेत्र घोषणा गरेको थियो । उत्खनन् भएको क्षेत्रमा धरान उपमहानगरपालिकाले आइइ नै गरेको छैन् भने त्यस क्षेत्रबाट कुनै पनि खोलाजन्य वस्तु उत्खनन नगर्ने भन्दै ठेक्का पनि लगाएको छैन् । ठेकेदार कम्पनीले इटहरी क्षेत्र भन्दा करिब १ किलोमिटर धरान तर्फको क्षेत्रमा उत्खनन् गरेको पाइएको छ ।
धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले प्राकृतिक क्षेत्र भएकाले संरक्षित क्षेत्र राखेको स्थानमा ठेकेदारले अवैध उत्खनन् गरेको भेटिएको बताइन् । उनले भनिन्, इटहरी र धरानको सिमा क्षेत्र भएकाले उत्खनन् भएको क्षेत्र भन्दा १ किलोमिटर माथि मात्रै धरानले ठेक्का लगाएको छ, अहिले इटहरीको ठेकेदारले यति धेरै दोहन गरेको छ, आइइको कुनै पनि मापदण्ड पुरा गरेको छैन् ।’ इटहरीपट्टी मिक्सगिट्टी ननिस्के पछि धरानतर्फ उत्खनन् गरेको जवाफ दिएको उपमेयर भण्डारीले बताइन् । उनले भनिन्, ‘यो ठकैती हो, वन ऐनले तोकेको कानुन पनि कम हुन्छ, ठेकेदारलाई हदै सम्मको कारवाही गर्न पहल गर्नेछ ।’

2 (2)
ठेकेदार कम्पनीका संचालक जिवन न्यौपानेले गल्ती भएको स्वीकार गरेका छन् । उनले इटहरी क्षेत्रमा ढुङ्गा, गिटी नपाए पछि धरान तर्फको क्षेत्रमा उत्खनन् गरेको स्वीकार गरेका छन् । उनले भने, गल्ती भएको छ, जस्तो सुकै सजाय भोग्न पनि तयार छुँ, गल्ती भयो, इटहरी क्षेत्रमा खन्नु पर्ने ६ मिटर हो, यहाँ खन्दा माटो मात्रै आउँछ, यस्को जिम्मेवार कसले लिन्छ ।’ इटहरीले आइइ गरेको क्षेत्रमा ढुङ्गा बालुवा नआउने भए पछि धरान तर्फको क्षेत्रमा उत्खनन् गरेको उनी बताउँछन् ।
वन ऐनको दफा ४९ (झ) मा ‘वन क्षेत्रबाट बग्ने नदीबाट ढुङ्गा, गिट्टी, बालुवा वा माटो झिक्ने, गोल वा चून पोल्ने वा यी वस्तुहरूबाट अरू तयारी माल बनाउने वा संकलन गर्ने र खनिज पदार्थ निकाल्ने वा संकलन गर्ने काम गरेमा कसुर हुने बताएको छ । अनुमतिविना उत्खनन गरेको ठेकेदारले उत्खनन गरेको सामाग्री उपमहानगरले बताएको ६० लाख नै यकिन भए ठेकेदारलाई २ वर्ष कैद हुन सक्दछ । कैद वा उत्खनन गरेको सामग्रीको दोब्बर अर्थात् १ करोड २० लाख बिगो सम्म भराउन सक्ने व्यवस्था ऐनमा छ ।
धरानकी उपमेयर मञ्जु भण्डारी सहितको टोलीले विहिबार उत्खनन् भएको क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो । अनुगमनमा डिएसपी ढुण्डीराज न्यौपाने, वातावरण अधिकृत भेषराज घिमिरे, पत्रकार सहितको टोली रहेको थियो । इटहरीले ठेक्का लगाएपनि ठेकेदार कम्पनीले धरानक्षेत्र मिचेर उत्खनन् गरिरहेको पाएपछि बुधबार ३ वना ट्रिपर र एउटा ट्याक्टर नियन्त्रणमा लिइएको छ । गाडीहरु अहिले पनि इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा राखिएको छ ।