धरानःधरान–१४ स्थित विजयपुर क्षेत्र ऐतिहासिक गढीमा रुपमा मानिन्छ । धार्मिक ग्रन्थहरुमा पनि विजयपुर क्षेत्रको विषयमा उल्लेख भएको पाइन्छ । विजयपुरलाई पुरातात्विक क्षेत्र पनि मानिएको छ । विजयपुरको पिण्डेश्वर परिषरमा पुनारा सिक्काहरु भेटिनुले पनि यसलाई प्रमाणित गरिदिएको छ ।
पिण्डेश्वर मन्दिरमा तत्कालिन राजा सुरेन्द्र विक्रम शाह र तत्कालिन प्रधानमन्त्री भिमसेन थापाले चढाएको घण्टा अझै पनि छ, विहिबार सुरेन्द्रविक्रम शाह र इष्ट इण्डिया कम्पनी लेखिएको तामाका सिक्का भेटिए पछि विजयपुर क्षेत्रको महिमा अझै ऐतिहासिक प्रमाणित गरिदिएको छ ।
पिण्डेश्वर विद्यापीठको परिसरमा नयाँ व्यवसायीक भवन बनाउन जग खन्ने क्रममा एउटा तामाको बाला, ढुङ्गा जस्तो देखिने सानो डोली पैसा सहित तामाको सिक्काहरु भेटिएको छ । नयाँ व्यवसायिक भवन बनाउन जग खन्ने क्रममा ती सिक्काहरू फेला परेको अध्यापक डा. महानन्द तिम्सिनाले जानकारी दिए । करिब डेढ सयको संख्यामा सिक्का फेला परेको हो । जग खन्ने क्रममा ती सिक्का कामदारले फेला पारेका थिए । सिक्कालाई मुचुल्का उठाएर अस्थायी प्रहरी चौकी विजयपुरको जिम्मा लगाइएको छ ।
भेटिएका सिक्कामा सुरेन्द्रविक्रम शाह र इष्ट इन्डिया कम्पनी लेखिएको पाइएको उनले जानकारी दिए । करिव ६ फिट मुनी ती सिक्का फेला परेका थिए । खाली जग्गामा क्याम्पसले भवन बनाउन लागेको थियो । नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले चैत ३ गते पिण्डेश्वर विद्यापीठको व्यापारिक भवन शिलान्यास गरेका थिए । अहिले सो भवन निर्माण कार्य रोकिएको छ ।