इलामः कोरोना भाइरसको त्रास बढे सँगै भारतको कोरोना प्रभावित क्षेत्रबाट नेपालीहरु अवैध बाटोबाट फर्कन थालेका छन ।
भारतमा काम गर्न गएका नेपालीहरु अवैध बाटोबाट नेपाल भित्रिन थालेको इलामका स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् । रोङ गाउँपालिकाकी उपप्रमुख चन्दकला राईका अनुसार गाउँपालिकाको सलकपुर लगायतका क्षेत्रबाट काम गर्न भारत गएका व्यक्ति भाइरसको महामारी फैलिएसँगै नेपाल फर्किन थालेका छन । राईका अनुसार भारत बाट नेपाल आउने १५ जना भन्दा बढी नेपाली जाँचको लागि तीनदिन सम्म लाइनमा रहेको र लाइनमा बस्नुपर्ने र त्यसपछि क्वारेनटाइनमा बस्नेपर्ने भएपछि सिमानाको जुनसुकै बाटो प्रयोग गरेर नेपाल आउने गरेको पाइएको छ ।
सिमाना जोडिएका ठाउँका जनप्रतिनिधिले खुल्ला सिमाना भएको कारण नेपाल आउने व्यक्ति जुनसुकै बाटो प्रयोग गरेर आउने भएकाले ठूलो समस्या रहेको बताएका छन । भारतसंग ५२ किलोमिटर सिमा रहेको इलामका तीन स्थानीय तहको भारतसंग सीमा जोडिएका छन् । रोङ, गाउँपालिका माईजोगमाई गाउँपालिका र सन्दकपुर गाउँपालिका भारत सँग जोडिएको खुल्ला सिमाना रहेकोले पनि जो कोहि जुनसुकै बेला नेपाल प्रवेश गर्ने भएकाले यसलाई व्यवस्थीत बनाउनुपर्ने सरोकार वालाको माग रहेको छ ।
तयारी थालियो
कोरोनाको संक्रमण बढ्दै गएकाले धमाधम नेपाल फर्किन थालेपछि इलाममा कोरोनाको संक्रमण भित्र्न नदिन तयारी थालिएको छ । भारतबाट फर्किएका नेपालीहरु स्वास्थ्य जाँचको व्यवस्था नभएको नाकाबाट भित्रन थालेपछि समाधान खोज्न स्थानीय तहका जनप्रतिनिधि सहतिको बैठक बसेको थियो । जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य जाँचको व्यवस्था भएको बैध नाकाबाट मात्रै मुलुक प्रवेश गर्न आह्वान गरेको छ । बैठकले सशस्त्र प्रहरी र नेपाल प्रहरीको परिचालन गरेर अवैध नाकाबाट आउनलाई स्वास्थ्य जाँच भएको नाकाबाट नेपाल भित्र्याउन पहल गर्नुपर्नेमा सहभागीले जोड दिएका थिए ।
बैठकले प्रत्येक स्थानीय तहमा हेल्थ डेस्क स्थापना गर्ने, रोजगारीको शिलशिलामा गएर फर्किएकाहरुको विवरण राख्ने, शंकास्पद व्यक्तिलाई सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गर्ने, कोरोना प्रकोप रोकथामको लागि आवश्यक सामग्री प्रदेश सरकार समक्ष माग गर्ने, जिल्ला स्थित विपद व्यवस्थापन कोषलाई प्रभावकारी बनाउने, स्थानीय तहमा भएको विपद व्यवस्थापन कोषलाई सम्बृद्ध र प्रभावकारी बनाउने, बजार अनुगमनलाई प्रभावकारी बनाउने र आवश्यकताको आधारमा स्थानीय तहहरुले ¥यापिड रेस्पोन्स टिम बनाएर परिचालन गर्ने र कोरोना भाइरसको जोखिमबाट बच्नको लाघि घरदैलो कार्यक्रम गर्ने निर्णय गरेको छ ।