विराटनगरः विराटनगर–जोगबनी नाकामा तीन दिनमा पचास हजार मानिसको ज्वरो परीक्षण भएको छ ।
किोरोनाभाइरस (कोभिड–१९)को त्रासका कारण भारतबाट सडक मार्ग हुँदै नेपाल प्रवेश गर्ने सर्वसाधारणको संख्यामा कमी भएपनि वारिपारि गर्ने नेपालीको सीमामा दैनिक स्वास्थ्य परीक्षण हुँदै आएको छ । गत फागुन २६ गतेदेखि महागरपालिकाले हेल्थ डेस्क स्थापना गरेको थियो । त्यसमा प्रदेश सरकारको समेत सहयोग रहेको छ । डेस्कमा बिहान र बेलुका दुई चरणमा ८ जना स्वास्थ्यकर्मीले सीमापारिबाट आएका भारतीय र नेपालीको ज्वरो परीक्षण गर्दै आएका छन् ।
शनिबार विगतका दिन भन्दा सर्वसाधारणको आवतजावतमा निकै कमी आएको डेस्कमा खटिएका स्वास्थ्यकर्मी सञ्जयकुमार सिंहले बताए । उनले भने, ‘बेलुकासम्म नाकामा ११ हजार जनाको इन्फ्राथर्मोमिटरले ज्वरो परीक्षण गरेका छौं ।’’ सिंहका अनुसार अन्यदिनको तुलनामा यो संख्या घटेको हो ।
यसअघि शुक्रबार सोही नाकामा १७ हजार ७ सय ५० जना र बिहीबार २४ हजार १ सय १३ जनाको स्वास्थ्य परीक्षण भएको थिो । डेस्कमा उपलब्ध साधन स्रोतको विषयमा प्रदेश १ सामाजिक विकास समितिले अनुगमन गरी प्रदेश सरकालाई तुरुन्त स्वास्थ्य सामग्री, पोशाक र मास्क लगायत वस्तु उपलब्ध गराउन ध्यानाकर्षण गरेको छ ।
समितिकी सभापति सरिता थापाले सीमा अनुगमनपछि सरकारलाई त्यस विषयमा जानकारी गराएको बताइन । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कुमार कार्कीले पनि सीमामा संचालन गरिएको हेल्थडेस्क पुगेर समस्याबारे जानकारी लिएका छन् ।