धरानः टेकुमा मात्रै परीक्षण हुँदै आएको कोरोनाको परीक्षण धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि हुने भएको छ ।
१० वटा आईसोलेसन बेड तयारी अवस्थामा राखिएकोमा सोमबार देखि २ वटा आईसियु सहितको २० वटा बेड सञ्चालनको तयारीमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सुचना शाखा प्रमुख धु्रव नेपालले बताए । उनका अनुसार कोरोना परीक्षणका लागि ल्याब सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको छ । ल्याब तयारी भएपछि सरकारले कोरोना परीक्षणको लागि कीट पठाउने बित्तिकै प्रतिष्ठानमै कोरोनाको परीक्षण हुने उनले बताए । नेपाल सरकारको सहयोगमा प्रतिष्ठानले परिक्षण सेवा बिस्तार गरेको उनको भनाई छ ।
यता धरान उपमहानगरपालिकाले कोरोना भाइरस संक्रमणको आशंका गरिएका व्यक्तिहरुलाई तत्काल क्वारेन्टाइन भएको ठाउँसम्म पु¥याउन धरानमा ४ वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने भएको छ ।
धरान उपमहागनरपालिका, इलाका प्रशासन कार्यालय, नेपाल रेडक्रस सोसाइटी सुनसरी, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, एम्बुलेन्स चालक संघ सुनसरीको संयुक्त बैठकले ४ वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने निर्णय भएको हो । यो सेवा निःशुल्क प्रदान गरिने छ । आइतबारदेखि नै ४ वटा एम्बुलेन्स वीपी प्रतिष्ठानमा तयारी अवस्थामा रहने निर्णय गरिएको धरानका मेयर तिलक राईले जानकारी दिए ।
यो एम्बुलेन्स सेवा रेडक्रसको १ वटा, वीपी प्रतिष्ठानको १ वटा र एम्बुलेन्स चालक संघको २ वटा हुनेछ । ती एम्बुलेन्स प्रतिष्ठानको जिओपिडी अगाडिको हेल्प डेस्कमा रहनेछ । क्वारेन्टाइनमा लैजान आवश्यक विरामीलाई एम्बुलेन्स मार्फत पु¥याइनेछ भने क्वारेन्टाइनबाट ल्याउनुपर्ने व्यक्तिलाई पनि ल्याइनेछ । हेल्थ डेस्कमा प्रहरी पनि परिचालन गर्ने निर्णय भएको छ भने स्कुलहरु विदा भएकोले शिक्षकहरुलाई सचेतना अभियानमा परिचालन गरिने पनि मेयर राईले जानकारी दिए । वीपी प्रतिष्ठानका चिकित्सकहरुले परामर्श गरेर विभिन्न सेक्टरहरुमा खटाउने उनले बताए ।