खोटाङ: विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट जोगिन खोटाङको त्रिधार्मिकस्थल हलेसी मन्दिर अनिश्चितकालका लागि बन्द गरिएको छ । दैनिक आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने विश्व प्रसिद्ध हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको संगमस्थल हलेसी मन्दिर (हिजो) शनिबार देखि अनिश्चितकालका लागि बन्द गरिएको हो ।
विश्वभरका दर्शनार्थी तथा पर्यटक भित्रने त्रिधार्मिकस्थल हलेसी मन्दिर नगरपालिका, विकास समिति र मन्दिर व्यवस्थापन समितिबीच छलफल गरेर अनिश्चितकालका लागि बन्द गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले जानकारी दिए ।
हलेसीमा हुने सन्ध्याकालीन आरतिसमेत अनिश्चितकालका लागि बन्द गरिएको विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले बताए । कोरोनाको महामारीबाट जोगिन चैत २० गते हलेसीमा लाग्ने रामनवमी मेलासमेत बन्द भएको छ ।