विराटनगरः संकटका बेला सरकारलाई नागरिकले पनि सघाउने हो । सरकारको एक्लो प्रयासले मात्र विपत्ती टर्ने होइन । अहिले कोरोना संक्रमणको संभावना टार्न संघीय, प्रदेश र स्थानीय सरकारले सक्दो प्रयास गरिरहेका छन् । तीन तहकै सरकारले नागरिकलाई पनि आफ्नो तर्फबाट भरमुग्द सहयोग गर्न र रोगको महामारी फैलन नदिन आह्वान गरेका छन् । तर, व्यवहारमा हेर्दा भने सरकारको यो आग्रहलाई नागरिकस्तरमा बेवास्ता मात्र होइन अटेरी नै गरे झैं देखिन्छ ।
प्रदेश १ को राजधानी विराटनगरको हाल हेर्दा यहाँ नागरकिको सहयोग भेटिंदैन । सरकारी तवरबाट रोग नियन्त्रण र जनचेतनामा प्रयास त थालिएको छ । तर नागरिकस्तरमा भने ‘रोग केही होइन, नेपालमा आउँदैन’ भन्नेसम्मको मानसिकता पाइएको छ । मानिसहरु बिनाकाम बजारमा ओहोर दोहोर गर्ने, भिंडभांड हुने, हाटबजारमा समूहमै बसेर कुराकानी गर्ने तथा काम नपर्दा पनि सवारी साधन लिएर बरालिएर हिंड्ने जस्ता व्यवहार गरेको पाइएको छ । धेरै मानिसले मास्क प्रयोग नगर्ने र व्यक्गित सरसफाइमा समेत ध्यान नदिएको पाइन्छ ।
सरकारको निर्णयपछि सोमबारदेखि भारत सीमाको जोगबनी नाका बन्द छ । तर, सीमावर्ती रानीसहित विराटनगरका मुख्यचौक, बजार र गल्लीहरुमा मानिसको उत्तिकै भिंड देखिन्छ । सरकारले अत्यावश्कबाहेकका सेवा बन्द गर्ने घोषणासमेत गरिसकेको छ ।
विराटनगरमा दैनिक जीवनमा तत्कालै आवश्यक नपर्ने सरसामान बिक्री हुने पशल अझै निर्वाध चलिरहेका छन् । खासमा मोरङ व्यापार संघ र विराट व्यापार संघले समेत व्यापार चौपट हुने भन्दै यसबारे आफ्ना सदस्यलाई के गराउने भन्ने निर्णय लिन सकेका छैनन् । बरु सेनिटाईजर वितरणसम्म भने गरेका छन् ।
विराटनगर महानगरपालिकाले हाटबजार बन्द गर्न शनिबार नै सूचना गरेको थियो । तर, त्यसयता पनि सडक र नहरका किनारमा लाग्ने साप्ताहिक हाटमा मानिसको उत्तिकै भिंड देखिन्छ । पशल थाप्नेहरु आएकै छन् । जोखिमपूर्ण तरिकाले किनमेल भईरहेकै छ । आइतबार अपरान्ह विराटनगर १२ रानीको साप्ताहिक हाटमा मानिसको ठूलो भिंड देखिन्थ्यो । महानगरका नगरप्रहरी खटिएपनि उनीहरुले मानिसको भिंड रोक्न सक्ने अवस्था देखिएको थिएन ।
प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले साप्ताहिक बजारलाई पूर्णत बन्द गर्न अब कडाई गरिने बताएका छन् । कार्की भन्छन्,‘‘सरकारले सीमा नाका बन्द गरेको छ । ठूलो संख्यामा हुने आवतजावत अब रोकिएका छन । अब हामी साप्ताहिक हाटलाई कडाइसाथ बन्द गर्दैछौं ।’’ कार्कीले सरकारले गरेको प्रयासमा नागरिकको सहयोग अपरिहार्य भएको बताए ।
बजार बन्द गर्न महानगरले सूचना नै जारी गरिसकेको तर अटेर गर्नेलाई अब कार्वाही गर्ने विराटनगर महानगरपालिकाले तयारी थालेकोछ । महानगरका प्रमुख भीम पराजुलीका अनुसार हाटबजारमा धेरै भिंड नगर्न आग्रह गरिएसकेकोेले अब अटेरगर्नेलाई कार्वाही हुनेछ । पराजुलीले भने,‘‘धेरै भिंडमा नजान र समूहमा जम्मा नहुन नगरिकले पनि जागरुकता देखाउनु पर्छ । सबै काम सरकारले मात्र गरेर कहाँ सक्ने हो र ?’’ पराजुलीले महाविपत्ती र संकटका बेला सबैको सहयोग प्रयास जरुरी भएको सुनाए ।
अति आवश्यकबाहेकका पसल निर्वाध !
विराटनगरमा मानिसको दैनिक जीवन संचालनमा आई पर्ने बाहेकका पसल निर्वाध संचालन भइरहेका छन् । विद्यालयहरु बन्द छन् तर विराटनगरका पुस्तक पसल खुलै छन् । भाँडावर्तन, कपडा, जुत्ता, खेलौना,घडी, मोबाइल आदि धेरै पसल बिहानैदेखि खुल्दै आएका छन् । सौन्दर्य प्रशासन र सैलुन पनि खुला छन् । ती ठाउँहरुमा मानिसको समूहगत भिंडभांड देखिन्छ । विराटनगरको मेनरोड, जलजला रोड, ट्राफिक चौक, रोडशेष चौक, तीनपैनी चौक, बरगाछी, कन्चनबारी जस्ता ठाउँहरु पनि भिंडभांडयुक्त देखिन्छ ।
यता, प्रदेश सरकारको मन्त्रिपरिषद्ले भारतको साना सिमानाका बन्द गरी सुरक्षा निगरानी बढाउने निर्ण गरेको छ । विराटनगरमा नेशनल ट्रेडिङ कम्पनीको खाली भवनमा ५० शैयाको अस्पताल बनाउने तयारी थालिसकेको छ । यसैगरी विराटनगर महानगरपालिकाले ठाउँठाउँमा हातधुन साबुन पानीको व्यवस्थापन गर्नेदेखि सेनिटाइजरको समेत प्रबन्ध गरेको छ ।
‘‘व्यवसायिक आचार संहिताभित्र रही आमनागरिकको दैनिक जीवन यापनका लागि आवश्यक दैनिक उपभोग्य वस्तु, औषधि लगायत अत्यावश्यक वस्तुहरुको पारदर्शी र निष्पक्ष्ँ रुपमा बिक्री वितरण गरी सहज रुपमा उपलब्धता गराउन उद्योगी÷व्यवसायीमा अनुरोध गर्दछु । साथै वर्तमान जटिल अवस्थालाई मनन गरी यसको न्यूनिकरणका लागि आ–आफनो उद्योग÷व्यवसाय परिसरमा पर्याप्त सुरक्षाका उपायहरु अवलम्वन गरी कोरोना भाईरसको संक्रमणबाट वच्न अपनाउनु पर्ने सावधानीहरुका बारेमा सचेतनामूलक सामग्री राख्न समेत उद्योगी÷व्यवसायीमा अनुरोध गर्दछु’’ भन्ने व्योहोराको प्रेस विज्ञप्ति उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले प्रकासित गरेका छन् । घिमिरेले केही दिन बन्द गर्दा फरक नपर्ने पशल वा उद्योगको विषयमा भने प्रस्ट्याएका छैनन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोरोना जोखिमबाट बच्नको लागि नागरिक आफै पनि सचेत र सतर्क हुनुपर्ने सुझाव दिएका छन् । कोइराला भन्छन्,‘‘सरकार त सहयोगी मात्र हो धेरै सावधानी त नागरिकले गर्नुपर्छ ।’’ उनले अहिलेको जोखिमबाट निस्कनको लागि सबै तह, तप्का र क्षेत्रको सहयोग अहपरिहार्य भएको बताए ।