सङ्खुवासभाः नेपालमा मात्र नभई विश्वमै महिला जागरणकी प्रेरणाको स्रोत मानिने योगमाया न्यौपानेको नाममा योगमाया आयुर्वेद विश्वविद्यालय अरुण उपत्यकामा स्थापना गर्नुपर्ने सङ्खुवासभा र भोजपुरका सरोकारवालाले माग गरेका छन् ।

सङ्खुवासभा सदरमुकाम खाँदबारीमा भएको एक छलफल कार्यक्रमका वक्ताहरूले अरुण उपत्यकामा जन्मिई ज्ञानको खोजी गर्ने, राजनीतिक तथा सामाजिक बेथितिविरुद्ध विद्रोह गर्ने र अरुण उपत्यकामा नै आफ्ना भक्तहरूका साथ अरुण नदीमा सामुहिक जलसमाधि लिएकी योगमायाको नाममा खुल्ने विश्वविद्यालय अरुण उपत्यकामा नै स्थापित हुनुपर्ने विचार उनीहरूले व्यक्त गरेका हुन् ।

उनीहरूले अरुण उपत्यकाका जिल्लाहरू भोजपुर र सङ्खुवासभामा जडीबुटी प्रशस्त पाइने, हाल यातायातको सुविधा भएको, विमानस्थल तथा सडक यातायातको सुविधा हुनुका साथै मध्यपहाडी राजमार्गबाट समेत जोडिएको हुनाले पनि विश्वविद्यालय यो क्षेत्रमा नै हुनुपर्नेमा जोड दिएका छन् ।

योगमाया भन्नेबित्तिकै नेपालको पहिलो समाज सुधारक महिलाको रूपमा चिनिन्छ । भोजपुर जिल्लाको साबिक नेपालेडाँडा गाविस हालको षडानन्द नगरपालिका वडा नं. १ मा उनी जन्मिएकी थिइन् । योगमाया नेपालकी मात्र नभएर विश्वभरकै महिलाहरूको प्रेरणाको स्रोत पनि हुन् भन्दै वक्ताहरूले योगमायाको चर्चा गरेका थिए ।

उनले आफ्ना अनुयायीहरूलाई आफूले भनेको कामको लागि जीवनको आहुति दिन पनि तयार बनाएकी थिइन् । योगमायाको नाममा अन्य स्थानमा विश्वविद्यालयको लागि पहल भइरहेको हुनाले आफूहरूलाई स्वीकार्य नभएको भेलाका वक्ताहरूले बताएका छन् ।

योगमायाले आफूसैगै वि.सं. १९६८ सालमा षडानन्द नगरपालिकाको वडा नं १ मझुवाबेंसीबाट ६८ जना अनुयायीहरूलाई साथमा लिएर जल समाधी गरेकी थिइन् । त्यसैले उनको नामको विश्वविद्यालय अरुण उपत्यकामा नै हुनुपर्छ भनी वक्ताहरूले भनेका हुन् ।

पछिल्लो समय योगमायाको नाममा प्रतिष्ठान तथा विभिन्न शक्तिपीठहरू स्थापना गर्ने काम हुनुका साथै उनको सम्मानको लागि उनको नाममा नेपाल सरकारले हुलाक टिकटसमेत प्रकाशन गरेको छ ।
तत्कालीन समाजमा देखिएको असमानतालाई अन्त्य गर्नका लागि उनी सदैव क्रियाशील रहेकी वक्ताहरूले बताएका थिए ।
योगमाया आयुर्वेदिक विश्वविद्यालय योगमायाको जन्म तथा तपस्यास्थलमा खोल्नुपर्ने आवाज अरुण उपत्यका क्षेत्रमा व्यापक रूपमा उठेको छ ।

Yogmaya-Neupane-Social-Reformer-1867-1941-A.D

कार्यक्रममा पूर्व सांसद नरेन्द्र बस्नेत, जिल्ला समन्वय समिति सङ्खुवासभाका प्रमुख सुमन शाक्य, उपप्रमुख अम्बिका खवास, खाँदबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडा, उपमेयर डेगेश्वरी श्रेष्ठ, षडानन्द नगरपालिकाका मेयर वीरबल राई, उपमेयर मेरिका राई लगायतका सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
भेलाका वक्ताहरूले योगमाया अरुण उपत्यकाको गौरव भएकाले विश्वविद्यालय सोही क्षेत्रमा स्थापना हुुनुपर्ने धारणा राखेका थिए ।

सङ्घीय सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेटमा विश्वविद्यालयको स्थापनाको लागि १० करोड बजेट विनियोजन गरेपछि भोजपुरसँगै सङ्खुवासभा, सुनसरी, दाङ, डोटी लगायतका जिल्लाले पनि आफ्नो जिल्लामा योगमाया विश्वविद्यालय स्थापना गर्नका लागि सरकारसमक्ष पहल गरिरहेका छन् ।