इटहरीः आजबाट सात दिनका लागि नेपाल सरकारले देशभरी नै लकडाउन गर्ने निर्णय गरेपनि आज बिहानबाट मानिसहरुले अटेर गरेको पाइएको छ । अत्यावश्यक पर्यो भने मात्र घर बाहिर निस्कने भने पनि धेरै मानिसहरु कस्तो हुन्छ लकडाउन भन्दै रमिता हेर्न घर बाहिर चौंक चौंकमा निस्केको पाइएको छ । सरकारले नागरिकको ज्यान सुरक्षाका लागि र विश्वलाई आक्रान्त पारेको कोरोना भाईरसको संक्रमण हुन नदिई देश र आम नागरिकलाई बचाउनका लागि लकडाउन लगायतका सावधानी अपनाएपनि देशका बिभिन्न स्थानमा नागरिकहरुले अटेर गरेको पाइएको हो । अब सरकारले अटेर गरेर घर बाहिर निस्कनेहरुलाई कानूनी कार्वाही गर्ने भएको छ ।
कानूनमा सरकारको निर्देशन पालना नगरि लकडाउनको वेवास्था गरि घर बाहिर निस्कनेलाई नियन्त्रणमा लिएर १ सय जरिवाना र १ महिना कैद गर्ने भएको छ । काठमाण्डौंमा कोरोना भाइरसका विरामी देखिएपनि हिजो सरकारले देशैभरी लकडाउनको घोषणा गरेको हो । हिजो सोमबार बसेको उच्चस्तरीय समन्वयन समितिको बैठकले ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म घरबाट बाहिर निस्कन नपाउने निर्णय (लकडाउन गर्ने) गरेको हो ।

lala-1170x439


उक्त नियम ७७ वटै जिल्लामा लागू हुने र उक्त निर्देशनको अवज्ञा गरे संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने समितिले जनाएको छ ।
संक्रामक रोग ऐन २०२० अनुसार कुनै व्यक्तिले रोग फैलिएको अवस्थामा सरकारले जारी गरेको निर्देशनको अवज्ञा गरेमा एक महिनासम्म कैद वा सय रुपैयाँ जरिवाना हुने उल्लेख छ ।
ऐनको दफा ३ मा उल्लेख गरिएको छ, ‘यो ऐन वा यस ऐन अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा १००।– सम्म जरिबाना वा दुवै सजाय हुनेछ ।’