इटहरीः उच्च ज्वरो र रुघाखोकीका कारण गम्भिर विरामी भएका विरगञ्जका एक युवकको ज्यान गएको छ । उनलाई कोरोनाको शंका गरि चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । उनको सो अस्पतालमा उपचार भईरहेको थियो । उनको उपचारका क्रममा मंगलबार विहान ७ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ। ती युवकको मृत्युबारेमा अस्पतालले आधिकारिकरुपमा अहिलेसम्म केही बोलेको छैन। उनि ३० बर्षका थिए । उनको शव अस्पतालमै राखिएको छ। उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिनअघि कोरोना विशेष अस्पतालमा पठाइएको थियो। कोरोना विशेष अस्पतालमा उपचाररत युवकको मृत्युको कारण खुल्न सकेको छैन। उनको कोरोना संक्रमण या अन्य कारणले मृत्यु भएको पुष्टि हुन सकेको छैन। उनलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो। तर कोरोना संक्रमण भए नभएको पुष्टि हुन बाँकी छ । उनको स्वाबको नमुना सोमबार नै संकलन गरिएको थियो। परीक्षणका लागि मंगलबार बिहान विमानबाट काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको अस्पताल स्रोतले जनाएको छ। रिर्पोट आएपछि मात्र उनको मृत्यु कोरोना कै कारण हो यहाँ अन्य भन्ने खुल्ने अस्पताल प्रशासनले जनाएको छ ।