धरानः कोरोना संक्रमित युवतीसंगै प्लेनमा आएकाहरु मध्ये दुई जना धरानका पनि भएको बुझिएको छ । धरान उपमहानगर वडा नम्बर ६ र १६ का व्यक्ति भएको बताइएको छ । उनिहरुको खोजीमा धरान उपमहानगर, प्रहरी प्रशान र चिकित्सकको टोली परिचालन हुने तयारीमा जुटेको बुझिएको छ । चैत्र ४ गते प्लेनमा आएको हो ,होइन पुष्टि भने नभएको बताइएको छ । पुष्टिका लागि उनिहरुको खोजी गरिने बुझिएको छ ।  स्थानका संक्रमितहरु समेत वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउन आउदा धरानवासीहरुमा कोरोना भाईरस सर्न सक्ने भएकाले धरान उपमहानगरले भोलि(बुधबार)बाट औषधी पसल बाहेक अरु सबै क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । केही बेर अघिमात्र धरान उपमहानगरको बसेको आकस्मिक बैंठकले सो निर्णय गरेको हो ।

धरान उपमहानगरवासीलाई कोरोना संक्रमण जोगाउन र अन्य क्षेत्रमा संक्रमण फैलन नदिन यस्तो निर्णय गर्नु परेको धरान उपमहानगरका मेयर तिलक राईले बताए । धरानवासीहरुले एक साताका लागि खाद्यन्न सामाग्रीहरु स्टक गरिसकेको जनाकारीका आधारमा भोलिबाट औषधी पसल बाहेक बसै बन्द गर्ने निर्णय भएको राईले जनाए ।, धरानउपमहानगर भरी कसैलाई खाद्यन्न अभाव भए उद्योग वाणिज्य संघ सुनसरीसंग सहकार्य गरि ढुवानीको व्यवस्थापन मिलाउने मेयर राईले बताए । चामल, दुग्ध, तरकारी बेच्दा पनि कसैलाई संक्रमण भएको भए अरुमा फैलने भएकाले यस्तो निर्णय लिनु परेको उपमहानगरको भनाई छ ।

नगरपालिकाले भोलिबाट गरिने बन्द अरुबेलाको जस्तो नभएकाले संवेदनशिल हुन उपमहानगरले नगरवासीमा आग्रह पनि गरेको छ । यसैबीच लकडाउनलाई वेवास्था गरि सवारी साधन चलाउनेहरुलाई धरानमा प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । कोरोना भाईरस संक्रमित युवतीसैंगै प्लेनमा आएकाहरुमा केही व्यक्ति झापाको पनि भएको र उनिहरु अस्पताल जानुको साटो घरमै बसिरहेको बुझिएको छ ।उता चैत्र ४ गते कतार एयरवेजबाट आएकामा बेलका नगरपालिकामा पनि एक युवक रहेको सो नगरपालिकाका मेयर दुर्गा थापाले बताए । संगै प्लेनमा आएका युवकले आफुलाई सम्पर्क गरि जानकारी दिएको उनले बताए । लगत्तै आफुले प्रदेश सरकार, अस्पताल र प्रहरी प्रशासनसंग सम्पर्क गरेको तर सबै निकायबाट घरमै बस्नु भन्ने जवाफ आएको मेयर थापाले बताए ।