धरानः कतार , दुबई र कोरियाबाट बिभिन्न समयमा आएका तीन युवाहरुले डाक्टरले दिएको सल्लाह अनुसार होम क्वारेन्टाइनमा बस्नुको साटो खुल्ला रुपमा बाहिर हिड्डुल गरिरहेको खुल्न आएको छ । वडा नम्बर १६ का अध्यक्ष दिलकुमार गिरीका अनुसार एक जना कतारबाट ७ दिन अघि घर आएका हुन् भने अर्का दुबईबाट ६ दिनअघि र अर्का एक जना कोरियाबाट ३ दिनअघि घर आएका हुन् । तिनै जनालाई होम क्वारेन्टाइनमा रहने गरि विमानस्थलबाट घर पठाइएको थियो । ‘होम क्वारेन्टाइनमा बस्नुपर्ने हो, तर ३ जना नै बसेको रहेनछ । त्यसैले हामी चिन्तत भएका हौं,’वडाअध्यक्ष गिरीले भने,‘तिनै जनालाई वीपी वा क्वारेन्टाइन पठाउने तयारी भइरहेको छ ।’ धरानको वडा नं ६ मा पनि एक जना विदेशबाट आएको जानकारी आएपछि उपमहानगरपालिकाले वीपी प्रतिष्ठान ल्याउन एम्बुलेन्स पठाएको छ ।
विदेशबाट आएका उनिहरुलाई होम क्वारेन्टाइनमा बस्ने सर्तमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट घर पठाइएको थियो । तर उनिहरु बाहिर खुल्ला रुपमा हिड्डुल गरिरहेको पाइएको हो । तीन युवाहरु १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्नुपर्ने भएपनि उनीहरु बाहिर खुलारुपमा हिडडुल गरिरहेको पाइएको वडा अध्यक्ष गिरीले जनाए । यो कुरा बाहिर आएपछि अहिले स्थानीयबासीहरुसँगै जनप्रतिनिधिहरु पनि चिन्तित छन् । ती तीन जनामध्ये एक जना कोरोना संक्रमण पुष्टि भएकी युवतीसँगै फ्लाइटमा आएको जानकारी आएपनि त्यसको पुष्टि हुन भने बाँकी रहेको वडा अध्यक्ष गिरी जनाए ।