बिर्तामोडः कोरोना भाइरसको सङ्क्रमित मुलुक कतारबाट कतार एयरवेजको जहाज चढेर दोहाबाट काठमाडौं हुँदै झापा आएका गौरादह–९ का एक व्यक्ति रुघा निको नभएपछि उपचारका लागि मङ्गलवार मेची अञ्चल अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका छन् । आज विहान ११ बजेतिर अस्पतालको आइसोलेसन कक्षमा उपचारका लागि उनलाई भर्ना गरिएको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले बताए । नगरप्रमुख श्रेष्ठका अनुसार ती पुरुष विगत ६ दिनदेखि रुघाले ग्रस्त छन् । उपचारका लागि उनी आफै अस्पताल आइपुगेका हुन् । अस्पतालमा कोरोना भाइरसबाट बँच्ने सुरक्षित ज्याकेट (पीपीई)को अभाव र न्यून जनशक्ति भएका कारण कोरोना उपचारका लागि बनाइएका आइसोलेसनमा उपचारको व्यवस्था मिलाउन कठिन भइरहेको प्रमुख श्रेष्ठले बताए । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ड डा. पिताम्बर ठाकुरले आन्तरिक हवाई उडानसमेत बन्द रहेका कारण आइसोलेसनमा भर्ना भएका व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण छ कि छैन भनी स्वाव परीक्षणका लागि काठमाडौं पठाउन नसकिएको बताएका छन् ।

उनले सरकारले आपतकालीन अवस्थामा स्वाव परीक्षणका लागि नमुना काठमाडौं पठाउन हेलिकोप्टरको व्यवस्था गर्नुपर्ने बताए । नगरप्रमुख श्रेष्ठले झापामा विदेशबाट आएका १० जना व्यक्ति हाल स्थानीय सरकारको सम्पर्कमा रहेर होमक्वारेन्टाइनमा बसिरहेको जानकारी दिएका छन् । यसैबीच जनस्वास्थ्य कार्यालय झापाका अनुसार, झापामा १ जना आइसोलेसनमा, १६ जना क्वारेन्टाइनमा र ४१ जना होम क्वारेन्टाइनमा रहेका छन् ।