विराटनगरः प्रदेश १ सरकारले कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रण कोष स्थापना गरेको छ ।
प्रदेश मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले रु. १० करोड रुपैयाँको ‘कोरोना जनसुरक्षा कोष’ स्थापना गर्ने निर्णय गरेको हो । कोषमा सरकारले रु. १० करोड रकम जम्मा गरिसकेको छ । मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले भने,‘‘कोषमा मुख्यमन्त्री, मन्त्रीहरु र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको छ ।’’
सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘कोरोना इन्फर्मेसन डेक्स’ स्थापना गर्ने निर्णय गरेको छ । सबै मन्त्रालयहरुमा एक जना अधिकृतस्तरका कर्मचारीलाई कोरोना फोकल पर्सन राख्ने र सूचनाहरु उपलब्ध गराउने प्रबन्ध गरिएको छ ।