धरानः चैत्र ४ गते कोरोना संक्रमित युवतीसंगै कतार एयरवेजमा नेपाल आएका धरानका दुई युवालाई वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ । पथरीका एक र लहानका अर्का एक युवकलाई नेपाली सेनाले मोरंगको टाँडीमा निर्माण गरेको क्वारेन्टाइनमा पठाइएको छ । धरान उपमहानगर वडा नम्बर ६ र १६ का दुई युवा प्रतिष्ठानका डाक्टरहरुको सम्पर्क आई भर्ना भएका हुन् ।
एउटै प्लेनमा नेपाल आएका धरानका दुइ जना बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्पर्कमा पुगेका छन् । सरकारी क्वारेनटाईनमा पनि नबसी धरान आईपुगेका कारण उनीहरुमा पनि कोरोना संक्रमण हुन सक्ने भन्दै धरान उपमहानगरपालिका, बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रहरीको संयुक्त प्रयासमा प्रतिष्ठान आईपुगेको बुझिएको छ ।
उनीहरु दुवैलाई धरान उपमहानगरपालिकाले तयारी अवस्थामा राखेको एम्वुलेन्सबाट प्रतिष्ठान पुगेका हुन् । दुबै जनाको थ्रोट स्वाब लिएर कोरोना परिक्षणकालागि टेकु अस्पताल पठाईने र हेल्थ स्क्रीनिङ गरी आईसोलेसनमा राख्नुपर्ने अवस्था आए प्रतिष्ठानको आईसोलेसनमा राख्ने र नभए दुवैलाई नेपाली सेनाले तयार गरेको मोरङको टाँडी स्थित क्वारेनटाईनमा पठाउने प्रतिष्ठानले जनाएको छ ।
सिराहाको लाहानबाट प्रतिष्ठानमा कोरोना परिक्षणका लागि ल्याईएका एक जनालाई प्रहरीको स्कटिङ गरी मोरङको टाँडी स्थित क्वारेनटाईनमा पठाईएको प्रहरीले जनाएको छ । उनी भारतको वेङ्लोरबाट आएका हुन् । कतार एयरवेजमै चैत्र ४ गते नेपाल आएका पथरीका ५० बर्षीय धिमाल थरका व्यक्तिलाई पनि स्थानीय प्रहरीको सहयोगमा एम्बुलेन्स मार्फट टाँडी पठाइएको छ । सप्तरीका एक युवकलाई पनि कोशी अञ्चल अस्पताल भर्ना गरिएको छ । विराटनगरका दुई जनालाई पनि कोरोनाको आशंकामा कोशी अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।