इटहरीः लकडाउनलाई वेवास्था गर्दा कोरोना भाइरस (कोभिड १९) को संक्रमणको सबैभन्दा बढी प्रभाव इटलीमा परेको छ । लामो समयदेखि लकडाउन रहेको इटलीमा २४ घण्टाको अन्तरमा ७ सय ४३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । इटलीमा आइतवारको मृत्यु संख्या भन्दा मंगलबार निकै नै बढेको छ ।
इटलीमा हालसम्म कोरोनाका कारण ६ हजार ८२० जनाको ज्यान गुमाईसकेका छन् । इटलीमा आइतबार र सोमबार मृत्युको संख्या केही कम देखिएको थियो । तर मंगलबार फेरि बढ्नाले चिन्ता थपिएको इटालीमा रहेका नेपाली संचारकर्मीै संजीव भट्टले बताए । इटलीले लकडाउनलाई थप २ साता बढाएको छ । यदि कोरोनाका कारण मृत्यु हुने दर अब पनि नघटे लकडाउन अझ बढ्ने भट्टले जनाए । उनका अनुसार कोरोनाको संक्रमण र ज्यान गुमाउनेहरुको संख्या तत्कालै घट्न सक्ने संभावना ज्यादै कम रहेको छ ।
कोरोना संक्रमणका कारण इटलीमा बिहीबार ४२७, शुक्रबार ६२७ र शनिबार ७९३ जनाको मृत्यु भएको थियो । तर आइतबार घटेर ६५१ र सोमबार झन् घटेर ६०२ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको थियो । मंगलबार भने बढेर ७४३ जनाको मृत्यु भएको छ । यो संख्या सोमबारको तुलनामा १४१ ले बढी हो ।
इटली कोरोना भाइरसबाट विश्वका सबैभन्दा बढी प्रभावित देशको सूचीमा छ । यहाँ ६ हजार ८ सय २० जनाले ज्यान गुमाइसकेका छन् । इटलीमा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबैभन्दा लामो समयदेखि लकडाउन गरिएको छ । तर पनि मृत्यु रोकिएको छैन ।
इटलीको उत्तरी क्षेत्र लोम्बार्डो कोरोनाबाट सबैभन्दा बढी प्रभावित छ । सबैभन्दा धेरै मृत्यु पनि यहीँ नै भएको छ । आखिर इटली किन यति धेरै प्रभावित भयो भन्ने प्रश्नको ठ्याक्कै उत्तर पत्ता लगाउन विशेषज्ञहरुले सकेका छैनन् ।
महामारी विशेषज्ञ पियरलुइजी कोकोले भनेका छन्, ‘अहिले नै यसको कारण यही नै हो भनेर ठोकुवा गर्नु हतार हुने छ । धेरै कारणहरु हुन सक्छन् । एक त अनुवांशिकी कारण हुनसक्छ । केही व्यक्ति बिना कुनै लक्षण पनि संक्रमित पाइएका छन् । कतिपयलाई संक्रमण देखिएको छैन । इटली विश्वका सबैभन्दा धेरै पाका व्यक्ति भएको देश हो । बढी उमेरका व्यक्ति संक्रमणको चपेटामा छिटो आउँछन् र उनीहरुलाई जोगाउन मुस्किल हुन्छ ।’
कोको भन्छन्, ‘इटलीका जनताको साँस्कृतिक र सामाजिक गतिविधि पनि संक्रमण फैलाउन मद्दत गरेको छ । यहाँका जनता समूहमा बस्छन्, भेट्नासाथ एकअर्कालाई चुमेर प्रेम साटासाट गर्छन् । परिवारका सदस्यहरु पनि आपसमा निकै नजिक हुन्छन् ।’ यद्यपि कोकोले इटलीको उत्तरी इलाकामा मृत्युको संख्या बढ्नुमा त्यहाँको वायु प्रदुषण पनि हुन सक्ने आशंका गर्छन् । इटलीमा कोरोना भाइरसका कारण मृत्युको संख्या बढे पनि संक्रमण दरमा भने केही दिनयता केही कमी आएको छ । इटलीका अधिकारीहरुका अनुसार संक्रमण दर एक प्रतिशतले घटेको छ । व्यक्तिगत दुरी बढाउने नियमको कडा पालना गर्दा संक्रमणको दर घटेको बताइएको छ ।
इटलीमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ६९ हजार १ सय ७६ छ ।वश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार कोरोना भाइरस १९५ देशमा फैलिएको छ । यसबाट १६ हजार ३६२ जनाको मृत्यु भइसकेको छ भने ३ लाख ७५ हजार ४ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।