धरानः चैत्र ४ गते कतार एयरवेजबाट नेपाल आएकी कोरोना संक्रमित युवतीसंग प्लेनमा आएका मध्ये धरान लगायत क्षेत्रका केही व्यक्तिहरु वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएसंगै प्रतिष्ठानले पनि हिजोबाट १८ गतेसम्मलाई कोरोना उपचार यथावत राखि अन्य क्षेत्रमा पूर्ण रुपमा लकडाउन गरिएको छ ।
१८ गतेसम्ममा सर्वसाधारणहरुलाई मात्र नभई वीपीकै शिक्षक एवं कर्मचारीहरुसहित सबैलाई आवतजावतमा रोक लगाएको प्रतिष्ठान प्रशासनले जनाएको छ । प्रतिष्ठानद्धारा जारी सूचना अनुसार प्रतिष्ठानको मुल ढोकासहित सम्पुर्ण प्रवेशद्धारहरु बन्द गरिएको छ । अति सिकिस्त, ज्वरो आएका विरामीहरुहरुलाई हेरी सम्बन्धित निकायसँग समन्वय गरेर मात्र सुरक्षाकर्मीले भित्र प्रवेश गर्न दिने कार्यवाहक उपकुलपति प्रा.डा.गुरुप्रसाद खनालले हिजो जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
प्रतिष्ठानले आवास र छात्रावास प्रयोग गरि बसेका शिक्षक, कर्मचारी र तिनमा आश्रित परिवारलगायत विद्यार्थीहरुलाई पनि अत्यावश्यक काममा बाहेक आफ्नो आवासबाहिर नजान निर्देशन गरेको छ । प्रतिष्ठान भित्रको खेलमैदान,सडक र अन्यत्र हिडडुल नगर्न र गरेको पाइएमा सुरक्षाकर्मीद्धारा कारबाही हुने पनि प्रतिष्ठानले चेतावनी दिएको छ । आवास तथा छात्रवासबाट बाहिर कसैलाई पनि निस्कन नदिइने सह प्रवक्ता एवं डा.अशाेक एेरले बताए । ‘डिउटीमा रहेको बाहेक कसैलाई पनि आफ्नो आवास वा कोठाबाट बाहिर निस्कन दिइनेछैन,’डा.एेरले भने,‘कसको डिउटी कुन बेला छ, त्यसअनुसार पास दिएका छौं, त्यो समयबाहेक कोही पनि निस्कन पाउदैन ।’

90839389_3123464917688404_675002489078022144_n
डाक्टर एेरका अनुसार प्रतिष्ठानका अत्यावश्यक सेवाबाहेकका सम्पुर्ण प्रशासनिक, स्कुल, कलेजका शिक्षकहरु तथा कर्मचारीहरु आवश्यकता अनुसार जुनसुकै समयमा पनि डिउटीमा अनिवार्य उपस्थित हुने गरी आआफ्नो आवासमा तयार अवस्थामा रहनेछन् । बाहिर अस्पतालको काममा कोही जानुपरे पटके पास दिइनेछ ।
यसैबीच वीपी प्रतिष्ठानका दुई जना इन्टर्न विद्यार्थी क्वारेन्टाइनमा छन् । उनीहरु भारतबाट आएको हुनाले थ्रोट स्वाब लिएर क्वारेन्टाइनमा पठाइएको हो । दुवै विद्यार्थी आफ्नै क्वार्टरमा क्वारेन्टाइनमा रहेको प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा.विकास साहले जानकारी दिए । कार्यवाहक उपकुलपति प्रा.डा.गुरुप्रसाद खनालले मंगलबारको मितिभन्दा १४ दिनअघि कोही विदेशबाट भ्रमण गरी आएको भए अनिवार्यरुपमा सेल्फ क्वारेन्टाइनमा बस्न पनि निर्देशन दिएका छन् ।
दुई दिनमा धरान स्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना आशंका गरी १३ जना आफ्नो स्वास्थ्य परिक्षण गर्न आईपुगेका छन् ।सम्पर्कमा आएका मध्ये चैत्र ४ गते कतार एयरवेजमा कोरोना संक्रमित युवती संगै प्लेनमा आएका तीन जना र इटहरीबाट एक जना, सिराहाको लाहानबाट १ जना, प्रतिष्ठानमै अध्ययनरत भारतीय विद्यार्थी २ जना, भारतको दिल्लीबाट आएका १ जना र भारतको केरेलाबाट आएका एक दम्पती, चिनिया नागरिक लगायत गरी जम्मा १३ जना प्रतिष्ठानमा आईपुगेको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहायक अस्पताल निर्देशक डा. विकास शाहले बताएका छन् ।
उनका अनुसार अहिले ५ जना प्रतिष्ठानको आईसोलेसन वार्डमा राखिएको छ । अरु ८ जनालाई क्वारेनटाईनमा रेफर गरिएको छ । सरकारले लकडाउन र जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको समयमा धरान उपमहानगरपालिकाले अत्यावश्यक सामान घर घर सम्म र्पुयाउने भएको छ । मङ्गलवार धरान उपमहानगरपालिकामा भएको बैठकले धरानवासीलाई घरमै खाद्यान्न र्पुयाउने पहल गर्ने भएको हो । उपमहानगरले इलाका प्रहरी कार्यालय,उद्योग वाणिज्य सङ्घको समन्वयमा घरमै खाद्यान्न सेवा र्पुयाउने पहल लिएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष गिरिधारि सापकोटाले जानकारी दिए ।