इलामः झापाको काँकरभिट्टा हुँदै मंगलबार नेपाल भित्रिएका इलामका ६ जनालाई डा. मेघबहादुर पराजुली अस्पताल सिङ्गफ्रिङ्गमा क्वारेन्टाइनमा राखिएको छ । इलाम नगरपालिका, माइजोगामाई गाउँपालिकालगायतका व्यक्तिहरु रहेको प्रशासनले जनाएको छ । सरकारले अन्तिम पटक मंगलबार भारतबाट आएकाहरूलाइ नेपाल भित्रिन दिएपछि इलाम आएका उनीहरुलाई क्वारेनटाइनमा राखिएको हो ।
त्यस्तै कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएकी फ्रान्सबाट आएकी युवतीसँगै दोहा कतारबाट जहाजबाट आएका इलाम नगरपालिका वडा नं. ४ का एक युवालाई इलाम अस्पतालमा स्वास्थ्य परीक्षण गरी सेल्फ क्वारेन्टाइनमा बस्न घर पठाइएको छ ।
उनीसँगै उनका परिवार र सम्पर्कमा आएका सबैलाई सेल्फ क्वारेन्टइनमा बस्न लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उनी वैदेशिक रोजगारीका लागि कतार गएका ति युवा कोरोना पोजेटिभ देखिएकी युवतीसँगै चैत ४ गते नेपाल फर्केका थिए ।
अस्पतालको सम्पर्कमा आउन आव्हान
कोरोना भाइरस प्रभावित मुलुकबाट यात्रा गरेर स्वदेश आउने व्यक्तिहरुलाई अस्पतालको सम्पर्कमा आउन इलाम नगरपालिकाले आव्ह्रान गरेको छ ।
नगरपालिकाले उनीहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न र सावधानी अपनाउन पनि आग्रह गरेको छ । इलाम नगरपालिका अन्तर्गत कोभिड १९ को प्रकोप रोथाम तथा नियन्त्रणका लागि गठित कार्यदलको बैंठकले कोरोना प्रभावित मुलुकबाट आएकाहरुको निगरानी राख्न र सूचना आदनप्रदान गर्नका लागि वडाध्यक्ष, सदस्य तथा स्वास्थ्य स्वयम् सेविकासँग अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
खुला सिमानाले जोखिम
सिमाना जोडिएका ठाउँका जनप्रतिनिधिले खुला सिमाना भएको कारण नेपाल आउने व्यक्ति जुनसुकै बाटो प्रयोग गरेर आउने भएकाले ठूलो समस्या रहेको बताएका छन । इलाममा नेपाल भारतसंग ५२ किलोमिटर सिमा रहेको इलामका तीन स्थानीय तहको भारतसंग सीमा जोडिएकाले नेपाल भित्रने जो कोही जुनसुकै ठाउँबाट प्रवेश गर्न सक्ने भएकाले जोखिम बढको हो ।
इलामको रोङ, गाउँपालिका माईजोगमाई गाउँपालिका र सन्दकपुर गाउँपालिका भारतसँग जोडिएको खुल्ला सिमाना रहेकोले पनि जो कोहि जुनसुकै बेला नेपाल प्रवेश गर्ने भएकाले यसलाई व्यवस्थीत बनाउनुपर्ने र नेपाल भित्रिएको पहिचान गरी होम क्वारेन्टाइनमा राख्नुपर्ने सरोकारवालाको माग रहेको छ ।
हेल्प डेक्स
इलामकमा विभिन्न ठाउमा हेल्प डेक्स सञ्चालनमा आएका छन । रोङगाउपालिकामा पर्ने इलाम प्रवेशद्घार जोरकलस, सूर्योदय नगरपालिकाको फिक्कल, नेपाल भारत सिमाक्षेत्र पशुपतिनगर,इलाम बजार प्रवेशद्घारमा हेल्पडेक्स सञ्चालन गरिएको छ । त्यस्तै माई र देउमाई नगरपालिका, फाकफोकथुम,सन्दकपुर र चुलाचुली गाउँपालिकामा पनि हेल्प डेक्स सञ्चालन भइरहेका छन ।
कोरोना भाईरसको संक्रमण बढ्दै जादा बिभिन्न सिलसिलामा देश भित्र र बाहिरबाट नेपालीहरु जिल्ला फर्कन थाले पछि जोखीम कम गर्न हेल्प डेक्स स्थापना गरिएको थियो । डेक्समा यात्रु , पर्यटक , सवारी चालक , स्थानीयको ज्वरोको तापक्रम थर्मल गनबाट मापन गर्ने गरिन्छ ।
लकडाउन कार्यन्वयन गर्न आदेश
जिल्ला प्रशासन कार्यालयले पनि चैत १८ गतेसम्मका लागि घरबाहि हिँडडुल तथा सवारी नचलाउन आदेश जारी गरेको छ । विश्वभर महामारीको रुपमा फैलदै गएको कोभिड १९ को संभावित संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्रशासनले औषधि उपचार बाहेक अन्य काममा कुनै पनि व्यक्तिलाई घरबाट बाहिर ननिस्कन आदेश जारी गरिएको छ । यसरीनै स्वास्थ्य, सुरक्षा र अनुमति प्राप्त सवारी बाहेक अन्य सवारीहरुलाई समेत नचलाउन आदेश जारी गरिएको छ । आदेशको अवज्ञा गरिएमा कानुन बमोजिम कार्वाही हुने पनि प्रशासनले जनाएको छ ।
आइसोलेसन कक्ष स्थापना
कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र उपचारका लागि इलममा आइसोलेसन कक्ष स्थापना गरिएको छ । जिल्लाको सदरमुकाममा रहेको इलाम अस्पतालमा रहेको क्याबिन वार्डलाई आइसोलेसनको रुपमा सन्चालन सुरु गरीएको हो ।
शङ्कास्पद देखिएका बिरामीको उपचारका लागि अस्पतालमा दुई शैयासहितका आइसोलेशन कक्ष स्थापना गरिएको छ । कोभिड–१९ का शंकास्पद बिरामी भेटिए आइसोलेसनमा राख्नेगरी जिल्लाका सरोकारवालाको बैठकले निर्णय गरेर आइसोलेसन कक्षको व्यवस्थापन इलाम अस्पतालले गरेको हो । ‘उच्च ज्वरो, रुघाखोकी लागी कोभिड–१९ का शंकास्पद अन्य लक्षण देखिएका व्यक्तिलाई आइसोलेसनमा वार्डमा रखिने भएको छ भने उक्त स्थानका लागि चिकित्सकको टोली तयारी अवस्थामा छुट्टै राखिएको र साथमा एम्बुलेन्ससमेत तयारी अवस्थामा रखिएको इलाम अस्पतालका ब्यवस्थापक क्षितिज खतिवडाले जानकारी दिए ।