धरानः बिरामीलाई अस्पताल पुर्याउने पहिलो व्यक्ति एम्बुलेन्स चालक नै हुन् । कोरोनाको महामारीको त्रास बढ्दै जाँदा पनि एम्बुलेन्स चालकहरुका लागि सुरक्षित व्यवस्थापन हुन सकेको छैन् । असुरक्षित रुपमा एम्बुलेन्स चलाएर बिरामीको ओसार पसार गर्दा खतरा बढ्न सक्ने भन्दै एम्बुलेन्स चालकहरुले गुनासो गरेका छन् ।
कोरोनाको त्रास बढ्दै गए पछि विभिन्न स्वास्थ्य केन्द्रहरुले एम्बुलेन्सलाई स्टेण्डबाइ राखेका छन् । कोरोनाको आशंका पाउने बित्तिकै एम्बुलेन्स चालकहरु एम्बुलेन्स लिएर कि त बिरामीको घरमा पुग्नु पर्छ कि बिरामीलाई क्वारेन्टाइन सम्म पुर्याउन खटिनु पर्ने अवश्था छ । तर उनीहरुको स्वास्थ्य माथि हुने खतरालाई व्यवस्थापन गर्न कसैको ध्यान पुग्न सकेको छैन् । एम्बुलेन्स चालक राजु पोख्रेल भन्छन्, हिजो मैले एउटा बिरामी छाडिदिए, उनी विदेशबाट आएका रहेछन्, ज्वरो आएको थियो, हामीनै असुरक्षित छौं, कसरी जोखिम लिने ।’ अन्य स्थानमा सेफ्टीको व्यवस्था गरिदिए पनि धरानमा नभएको उनको गुनासो छ ।
एम्बुलेन्स चालकहरुको सुरक्षाका लागि न त राज्यले कुनै व्यवस्थाका लागि आग्रह गरेको छ कुनै स्थानीय निकायले चासो देखाएको छ । उनीहरुलाई बिरामी बोक्न आग्रह गरिएको छ तर उनीहरुको सुरक्षाको लागि कुनै व्यवस्था छैन् । उनीहरुलाई आवश्यक पर्ने मास्क, एप्रोनको समेत व्यवस्थान गर्न नसक्दा एम्बुलेन्सनै चलाउन बन्द गर्नु पर्ने अवश्था आउन सक्ने सुनसरी एम्बुलेन्स चालक संघ इकाइ १८ का अध्यक्ष हरि भुजेल बताउँछन् । अहिले सम्म कुनै पनि निकाय कसरी सुरक्षाको व्यवस्था गरेका छौं भनेर सोध्न पनि नआएको उनको गुनासो छ । सुनसरीका एम्बुलेन्सहरुको व्यवस्थापन तथा अनुगमनका लागि जिल्ला प्रशासन कार्यालयका प्रमुखको संयोजकत्वमा समिती नै बनेको छ । त्यही समितीले पनि अहिले सम्म कुनै चासो नदेखाएको उनले बताए । उनले भने, अब राज्यले हाम्रो सुरक्षाको व्यवस्थापन गर्न सकेन भने त कसरी चलाउनु, यस्तै अवश्था भइरह्यो भने, एम्बुलेन्स थन्काएर घरमै बस्नुपर्ने हुन्छ, हाम्रो पनि जोखिम हेर्नुपर्छ ।’
नेपालमा पनि कोरोनाको संक्रमितहरु देखिन थालिसकेका छन् । यस्तो अवश्थामा एम्बुलेन्सको प्रयोग गर्दा पहिलो जोखिममा एम्बुलेन्स चालकहरु नै हुने गर्दछन् । त्यसैले उनीहरुको सुरक्षाका लागि आवश्यक व्यवस्थापनको खाँचो रहेको छ ।