इटहरीः कोरोना भाईरसको संक्रमण हुने त्रासले इटहरीका केही नीजि अस्पताल तथा क्लिनिकहरुले आफ्ना सेवा बन्द गरेपनि इटहरीको सामुदायिक अस्पताल लगायत ३ नीजि अस्पतालहरुले आफ्ना सेवा २४ सै घण्टा सुचारु गरिरहेका छन् ।
कोरोनाको महामारीमा जनताहरुलाई सदाको झै सेवा दिनका लागि अस्पतालसंग उपलब्ध भएका साबधानीका सामाग्रीहरुको प्रयोग गर्दै २४ सै घण्टा सेवा सुचारु गरिरहेको सामुदायिक अस्पताल इटहरीका संचालक एव्म प्रबन्ध निर्देशक हेम गुरुङले बताए । सामुदायिकले गोरखा बेकरी पूर्व तर्फ निर्माण गरेको अस्पताललाई क्वारेन्टाईन निर्माणका लागि उपलब्ध गराउने घोषणा पनि गरेको गुरुङले बताए ।
केही नीजि अस्पताल तथा क्लिनिकहरुले कोरोना संक्रमणको त्रासले सेवा बन्द गरेपछि केही संचारमाध्यमबाट इटहरीमा नीजि क्षेत्रबाट संचालित सबै अस्पताल तथा क्लिनिक बन्द भएको भन्ने भ्रमपूर्ण समाचार बाहिर ल्याएकोमा सुचारु रहेकाहरुले आपत्ति समेत जनाएका छन् । स्थानीय, प्रदेश र संघीय सरकारसंग समन्वय गरेर अस्पताल संचालन गर्न तयार रहेको ती अस्पताल संचालकहरुको भनाई छ । इटहरीमा हाल सामुदायिकसंगै वेदान्त र एपेक्स रअस्पताल सुचारु छन् । सामुदायिक अस्पतालका संचालक गुरुङ भन्छन्–‘ जस्तो सुकै परिस्थितीमा पनि नागरिकलाई स्वास्थ्य सेवा दिने बाचाका साथ संचालन गरिएको अस्पताललाई हामी बन्द गर्ने छैनौं । ढुक्क भएर कुनै समस्या परे सेवाका लागि अस्पताल आउदा हुन्छ ।’
उनले मानविय सेवामा आफ्नो अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र प्रशासन तर्फका कर्मचारीहरु २४ सै घण्टा हाजिर रहेको बताएका छन् ।
इटहरीमै संचालित वेदान्त अस्पतालले आफ्ना सबै बेडहरु क्वारेन्टाईनका लागि दिने निर्णय गरेको छ । अस्पतालले वेड दिने निर्णय गरेसंगै आफ्नो सेवा २४ सै घण्टा सुचारु गरिहेको छ । आज विहान मात्र ३० जना विरामीलाई अस्पतालले सेवा प्रदान गरेको संचालक इन्द्र श्रेष्ठले बताए । उनले जस्तो सुकै संकटमा पनि अस्पताल सुचारु राख्ने बताए । त्यसका लागि स्थानीय , प्रदेश सरकार र प्रहरी प्रशासनसंग निरन्तर सहकार्य गर्ने उनको भनाई छ ।
यता विराटनगर लाइनमा संचालित पशुपति मोडल अस्पताल भने अाज बाट बन्द हुने भएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई टाढाबाट आवत जावतमा समस्या भएकाले अाजबाट सेवा बन्द गरिए संचालक पशुपति चौधरीले बताए । उनका अनुसार अस्पतालले आफुसंग भएको ६ वटा वेड भने क्वारेन्टाईनका लागि उपलब्ध गराउने घोषणा गरिसकेको छ ।