इटहरीः झापको विर्तामोडमा संचालित सुविधा सम्पन्न विएण्डसी टिचिङ हस्पिटल कोडिभ–१९ को उपचारका लागि राज्यलाई दिन तयार रहेको हस्पिटलका सञ्चालकले घोषणा गरेका छन् । हस्पिटलका संचालक दुर्गा प्रसाईंले शुक्रवार एक विज्ञप्ति जारी गरी यस्तो घोषणा गरेका हुन् ।
उनले अस्पतालसँग कोभिड–१९ जाँचका लागि स्वास्थ्यकर्मीलाई चाहिने आवश्यक ड्रेस पीपीई र किट्स नभएको बताउँदै सरकारीसरह राज्यले खर्च व्यहोरेर सञ्चालन गरे आफू दिन तयार रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् । आठ सय नर्मल बेड, एक सय आइसियू कक्ष र २५ वटा भेन्टिलेटरसहितको आइसियू कक्ष रहेको हस्पिटलमा १०५ जना डाक्टर रहेको उनले बताए । उनले विज्ञप्तिमा भनेका छन् ,‘सरकारले मात्र उपलब्ध गराउने सक्ने किट्स र जाँच उपचारका लागि प्रयोग हुने सुरक्षित उपकरहरु पीपीई सेट उपलब्ध नभएका कारण हामी यो उपचार गर्न र परीक्षण गर्न सकिरहेका छैनौं, सरकारले यो विषम परिस्थितिमा कोरानाको उपचार र परीक्षणका लागि यो हस्पिटल उपयोग गर्न चाहान्छ भने हामी दिन तयार छौं ।’
प्रसाईँले हस्पिटलको मेचीनगर–१२ स्थित धाइजनमा बेसिक साइन्स पढाउनका लागि तयार गरिएको भवनमा समेत ५०० बेडको क्वारेन्टाइन बनाउन सकिने बताए । झापा, इलाम, पाँचथर र ताप्लेजुङ गरी २५ लाख बढी मानिसले उपचार गर्न सकिने हस्पिटलमा कोराना भाइरसको उपचार गरिनु पर्ने स्थानीयवासीले सामाजिक सञ्जालमार्फत माग गर्दै आएका थिए ।