धरानः प्रदेश नम्बर १ सरकारको सामाजिक विकास मन्त्रालयलबाट परिपत्र भएलगत्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आइसोलेसन बेड थप गर्नका लागि आवश्यक तयारी शुरु गरेको छ । त्यसका लागि प्रतिष्ठानले आफुसंग रहेको ४ वटा विभाग खाली गरेको छ ।
कोरोना संक्रमितको सम्भावित जोखिमको पुर्वतयारी स्वरुप वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आफ्नो ४ वटा विभाग खाली गरी आइसोलेसन बेड निर्माणको कार्य थालेको प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले बताए । उनका अनुसार अर्थोपेडिक, ईएनटि, डर्मालोजी र आई(आँखा) विभागको वार्ड पुर्णरुपमा खाली गरिएको छ । उल्लेखित ४ विभागलाई अब कोरोना संक्रमितको उपचारको लागि आइसोलेसनमा परितण गरिने छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले बिहिबार मात्र वीपी प्रतिष्ठानलाई २ सय बेडको थप आइसोलेसन तयारी गर्न परिपत्र जारी गरेको थियो । प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा.गुरु खनालले प्रदेश सरकारको परिपत्र आउनु अघिनै प्रतिष्ठानले थप आइसोलेशन बेड थप्ने तयारी थालेको दावी गरे । प्रतिष्ठान आफैले यो समयमा सजगता अपाउनुपर्ने भएकोले आइसोलेसन वेड थप गर्ने तयारी गरिरहेको उनले बताए । हालको जोखिमलाई हरेकले आआफ्नो ठाउँबाट व्यवस्थापन गर्ने हो, हामीसँग जे जस्तो स्रोतसाधन छ, त्यसलाई अधिकतमरुपमा परिचालन र उपयोग गर्नु पर्ने भएकाले चार वटा विभागलाई खाली गराइएको उनले बताए । यी बिभागमा बेड तयारी गरिसकेपछि प्रतिष्ठानमा मात्र के कति संख्यामा आइशोलेसन बेड तयारी हुन्छ भन्ने जानकारी पनि हुने खनालको भनाई छ ।

प्रतिष्ठानमा अहिले २० बेडको आइसोलेसन रहेको छ । अहिले इर्मजेन्सीबाहेकका सम्पुर्ण सेवा ठप्प छ भने कोरोना भाइरस आशंकाका विरामीहरुको लागि जिओपिडी भवन अघि हेल्प डेस्क सञ्चालनमा छ । प्रतिष्ठान हातभित्र समेत लकडाउन गरिएपनि ज्वरोको लागि स्पेशल जिओपिडी अगाडि फिवर क्लिनिक सञ्चालनमा छ । अहिले अत्यन्तै जरुरी अप्रेशनहरु मात्र भइरहेको प्रतिष्ठानका सह प्रवक्ता अशोक ऐरले बताए ।
आजबाट कोरोनाको नमूना परिक्षण हुने
संघीय सरकारको निर्णय अनुसार प्रदेश नम्बर १ मा रहेको दक्षिण एसियाकै प्रतिष्ठित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितहरुको ब्लड संकलन गरि नमूना परिक्षण सुरु हुने भएको छ ।
त्यसका लागि संघीय सरकारको स्वास्थ्य मन्त्रालयबाट प्रविधिक टोली धरान पठाईसकेको छ । वीपीमा कोरोना संक्रमितहरुको नमूना परिक्षणका लागि किट आएपनि केही अन्य समाग्री आइपुगि सकेको छैन । आज (सुक्रबार) साँझसम्ममा सबै सामाग्री आईपुग्ने र नमूना परिक्षण सुरु हुने प्रतिष्ठानले जनाएको छ ।