विराटनगरः प्रदेश नम्बर १ सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनका कारण प्रभावित विपन्न तथा श्रमिक परिवारका लागि े राहत प्याकेज ल्याउने भएको छ । त्यसका लागि सुक्रबारबाट आवश्यक तयारी समेत थालेको छ । राहत प्याकेजका लागि प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले सर्वपक्षिय छलफल डाकेका छन् ।
लकडाउनमा बढी प्रभावित बिपन्न र श्रमिकहरुको परिवारका लागि प्रदेश सरकारले राहत प्याकेज ल्याउने तयारी गरेको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार धु्रव सुवेदीले जानकारी दिएका छन् । कोरोना संक्रमण नियन्त्रणका लागि आह्वान गरिएको लकडाउन लम्बिने अवस्था आएपछि राहत प्याकेज निर्माणका सुझाव संकलन गर्न छलफल राखिएको हो । सुझावहरुका आधारमा प्रदेश सरकारले केही दिन भित्रै राहत प्याकेज ल्याउने मुख्यमन्त्री राईका प्रेस सल्लाहकार सुवेदीले जानकारी दिए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा मुख्यमन्त्री राइले कोरोना रोकथामका लागि प्रदेश सरकारले गरेका काम र भावी रणनितीका बारे जानकारी गराएका थिए । सो क्रममा उनले मुख्यमन्त्री राईले आपूर्ति व्यवस्था सहज बनाउने र दैनिक ज्यालादारी श्रमिकहरुलाई चाडै राहत प्याकेज ल्याउने बताए । बैठकमा राजनीतिक दलका नेता, प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरु, स्थानीय तहका जनप्रतिनिधि, सरकारी अस्पतालका प्रतिनिधि, अस्पताल सञ्चालक, उद्योगी, व्यवसायीका प्रतिनिधिहरुको उपस्थिति रहेको प्रेस सल्लाहकार सुवेदीले जनाए ।