विराटनगरः प्रदेश नम्बर १ सरकारले कोरोना भाईरस (कोभिड १९) रोकथाम, नियन्त्रणका लागि ३ करोड बजेट निकासा गरेको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सो रकम निकासा गरेको हो ।
स्थानीय र प्रदेश सरकारले सञ्चालन गरेको हेल्थ डेस्सका सञ्चालन लगायत अन्य प्रयोजनका लागि बजेट निकासा गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालय अन्र्तगतका कार्यालय र १४ वटा विभिन्न जिल्लाका स्थानीयतहलाई कोभिड १९ संक्रमण रोकथामका लागि हेल्थ डेस्क सञ्चालन लगायत कोरानासंग सम्बन्धित कार्यका लागि औषधी तथा औषधीजन्य सामाग्री खरीद तथा व्यवस्थापनका लागि प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रलाई ५० लाख, प्रदेश अन्तर्गतका १३ वटा अस्पतालहरुलाई ९५ लाख, प्रदेश अन्तर्गतका १४ वटा स्वास्थ्य कार्यालयहरुलाई २२ लाख ५० हजार , विभिन्न १४ वटा स्थानीय तहलाई ८० लाख र स्वास्थ्य निर्देशनालय, धनकुटालाई समेत गरी ३ करोड निकासा पठाइएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।
कोभिड १९ को संक्रमणबाट स्वास्थ्य सम्बन्धि तथा सो कार्यमा संलग्न हुने चिकित्सक, स्वास्थ्यकर्मी र एम्बुलेन्सका चालकहरुलाई संक्रमण हुनबाट बच्नका लागि विभिन्न सरकारी, निजी अस्पताल, स्वास्थ्य कार्यालय लगायतलाई (पीपीई) व्यक्तिगत सुरक्षा सामग्री २ सय ११ थान, ज्वरो नाप्ने मेसिन १६ थान, सर्जिकल मास्क ५ हजार थान, सर्जिकल ग्लोब ७ हजार २ सय जोडी, हेण्ड सेनिटाइजर १ हजार २ सय ५० थान उपलब्ध गराइएको मन्त्रालयले जनायो ।
सामाजिक विकास मन्त्रालयले विशेष गरी संक्रमण भएका विरामीको हेरचाह, उपचार गर्ने चिकित्सक, स्वास्थ्यकर्मी लगायतसो कार्यमा खट्ने कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि मध्यनजर गरी त्यस्ता सामग्रीको निरन्तर व्यवस्थापन गरिरहेको मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताए ।