एजेन्सीः जब कोरोना भाइरसँग चीन एक्लै लडिरहेको थियो तब महाशक्ति अमेरिकायले यसलाई चीनको मात्रै समस्या बतायो । केही दिनपछि कोरोेनालाई चिनियाँ भाइरसको सङ्ज्ञा दियो । जब आफ्नो मुलुकतर्फ कोरोनाले यात्रा थाल्यो तब राष्ट्र डोनाल्ड ट्रम्प केही आत्तिए, तर अरुलाई आरोप लगाउन भने छाडेनन् । अहिले कोरोनाका केन्द्र त्यही शक्तिशाली देश अमेरिका बनेको छ ।

अमेरिकामा सुक्रबारसम्म सङ्क्रमितको सङ्ख्या १ लाख नाघिसकेको छ । मृत्यु हुने पनि १हजार ६ सय ९५ जना पुगिसकेको छ । यसबाट के स्पष्ट हुन्छ भने, अमेरिका कोरोना सङ्क्रमण नियन्त्रणमा असफलताउन्मुख हुँदै गएको छ । अमेरिकामा कोरोनाको महामारी सुक्खा जङ्गलमा आगो लागेजसरी फैलिँदै गएको छ ।
यो महामारीको सामना गरेर लगभग पार पाइसकेको चीनमा ८१ हजारभन्दा बढी सङ्क्रमित थिए भने इटलीमा ८० हजार माथिको सङ्ख्यामा सङ्क्रमित भएको पाइएको छ । छिमेकी भारतमा सोही दिनसम्म सात सय नाघेको छ भने नेपालमा केवल चार जनामा पोजिटभ पाइएको छ ।

कतिपय अमेरिकी वैज्ञानिकले यसअघि नै आफ्नो मुलुक कोरोनाको सबैभन्दा ठूलो गढ बन्न सक्ने चेतावनी दिएका थिए । संसारको तेस्रो ठूलो आवादी भएको देश अमेरिका कोरोनाको ठूलो सिकार बन्न सक्ने तिनले बताएका थिए । ३३ करोडभन्दा बढी जनङ्ख्या भएको अमेरिकामा कोरोना अझै बढ्न सक्ने अवस्था छ । सबैभन्दा चिन्ताको कुरो त के छ भने अमेरिकामा सङ्क्रमण पत्ता लागिसकेपछि उपचारले निको हुने सङ्ख्या निकै कम छ । यसबाट के बुझ्न सकिन्छ भने त्यो महाशक्ति राष्ट्रमा पनि हेल्थ इन्फ्रास्ट्रक्चर निकै कमजोर रहेको छ । त्यहाँका सरकार अन्य सन्दर्भमा बलिया भए पनि जनस्वास्थ्यमा निकै लापरवाही गर्दा रहेछन् भन्ने खुलासा कोरोना सङ्क्रमणले गरिदिएको छ ।

corona-10

कोरोनाबाट सबैभन्दा बढी प्रभावित न्युयोर्कमा सङ्क्रमितलाई राख्ने अस्पताल र बेडको निकै अभाव छ । चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी छैनन् । न्युयोर्कका गभर्नर एन्ड्रु काओमाले मद्दतका लागि सेवानिृत्त स्वास्थ्यकर्मीलाई बोलाए पनि तिनले आफ्नो सुरक्षाको माग गरेको बताए । उनका अनुसार न्युयोर्कमा अहिले ३० हजार भेन्टिलेटर आवश्यक छ, तर सरकारले चार सयवटा मात्र पठाएको छ । न्युयोर्कमा अहिलेसम्म ३८५ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

काओमा भन्छन्, ‘‘केवल चार सय भेन्टिलेटरले के गर्नु ? कसलाई बचाउनु, कसलाई मर्न छाडिदिनु ?’’ उनको कुरा सार्वजनिक भएपछि सरकारले चार हजार भेन्टिलेटर पठाए पनि त्यो अझै निकै कम रहेको देखिन्छ । अवस्था तेज गतिमा खराब हुँदै गएको उनी बताउँछन् ।

सङ्क्रमितको परीक्षणको विषयलाई लिएर राष्ट्रपति ट्रम्प निकै आलोचित भए । एक पत्रकार सम्मेलनमा उनले सबैको कोरोना भाइरस टेस्ट परीक्षण गर्न असम्भव रहेको उनले बताएका थिए । उनको धारणामाथि डेमोक्रेटिक पार्टी नेता हिलारी क्लिन्टनकी छोरी चेल्सिया क्लिन्टनले प्रतिक्रिया दिँदै भनिन्, ‘‘हामीसँग सबैको टेस्ट गर्न सक्ने क्षमता हुनुपर्छ । पब्लिक हेल्थको निम्ति यो निकै जरुरी छ र अर्थतन्त्रका लागि पनि आवश्यक छ ।’’

आलोचना र विरोधबाट घेरिएका अमेरिकी राष्ट्रपति ट्रम्पको कार्यशैलीले सङ्क्रमण तीव्र गतिमा बढ्ने र सम्हाल्नै नसकिने अवस्थाको सामना गर्नुपर्ने त होइन भन्ने चिन्ता सर्वत्र फैलिएको छ । केही मुलुकका अधिकारी अहिले अमेरिकाले अभिभावकीय भूमिका निर्वाह गर्दै यो महामारीबाट जोगिन अग्रसर हुनुपर्ने बताइरहेका छन् ।
यसैबीच, कतिपय जानकारहरु अमेरिकाले चीनबाट सहयोग लिनुपर्ने बताउँछन् । कोरोना नियन्त्रण गर्ने चिनियाँ मोडालिटी संसारकै लागि उदाहरणीय र अनुकरणीय रहेको तिनको ठहर छ । तर राष्ट्रपति ट्रम्प भने अहिले पनि चीनलाई हेर्नु पर्दा टेढो आँखा नै प्रयाग गर्छन् ।