इटहरीः कोरोना भाईरसको संक्रमण रोक्नका लागि धनकुटाको महालक्ष्मी नगरपालिकाले मेयर , उपमेयर, वडाअध्यक्ष र कार्यपालिकाका सदस्यहरुको एक महिनाको तलब प्रदान गर्ने निर्णय गरेको छ । आज बिहान सो नगरपालिकाका मेयर पर्शुराम नेपालको अध्यक्षतामा बसेको बैंठकले सो निर्णय गरेको हो । नगरपालिकाले निर्माण गरेको विपत् व्यवस्थापन कोषमा १५ लाख दिने निर्णय भएको हो । त्यसैगरि जिल्ला दैविक प्रकोप समितिले निर्माण गरेको कोषलाई पनि थप १० लाख नगरपालिकाले निकासा दिने निर्णय गरेको छ । जिल्ला दैविक प्रकोश व्यवस्थापन समितिले यतिबेला धमाधम क्वारेन्टाईन र आइसोलेसन निर्माण गरिरहेको छ ।
महालक्ष्मी नगरपालिकाले पनि स्थानीय जनता माध्यामिक विद्यालयको केन्द्रमा क्वारेन्टाईन र आइसोलेसन वेडहरु निर्माण थालेको छ । सबै वडाहरुबाट कोरोना भाईरस संक्रमणबाट नगरवासीलाई जोगाउन सचेताना मुलक कार्यक्रमहरु भईरहेको नगरपालिकाका मेयर पशुराम नेपालले बताए । नगरपालिकामा माक्स अभाव हुन नदिनका लागि वडामा रहेका माक्स उत्पादन गर्ने उद्य्मीहरुलाई आग्रह गरेको र उनिहरुले आवश्यक पर्ने जति माक्स उत्पदान गरेर नगरपालिकालाई उपलब्ध गराएको मेयर नेपालले बताए । नगरका वडाहरुबाट नगरवासीहरुलाई माक्स वितरणको कार्यपनि भईरहेको उनले बताए । नगरपालिकाले स्वास्थ्यकर्मी र कर्मचारी खटाएर वडाहरुबाट विदेशबाट आएकाहरुको तथ्यांक संकलन गरिरहेको उनले बताए । तथ्यांक संकलनका क्रममा विदेशबाट आएका नगरवासीहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिएको मेयर नेपालले बताए ।
नगरपालिकाले सबै वडाका मुख्य केन्द्र , बजार क्षेत्रमा हेल्थ डेक्सको स्थापना गरि सचेता र स्वास्थ्य सेवाका कार्यक्रम संचालन गरिरहेको मेयर नेपालले बताए । नगरपालिकाले लकडाउनलाई पूर्ण पालना गर्न नगरवासीलाई आग्रह गरेको र लकडाउनको पूर्ण पालना भए नभएको अनुगमनका लागि स्थानीय प्रहरी प्रशासनसंग सहकार्य गरिएको मेयर नेपालले बताए । लकडाउनका बेला दैनिक ज्यालादारीमा काम गर्ने विपन्न परिवारको समेत लगत संकलन गर्न वडाअध्यक्षहरुलाई निर्देशन दिएको उनले बताए । लगत संकलन पछि आवश्यकताका आधारमा राहत प्याकेट समेत वितरण गर्ने तयारी नगरपालिकाले गरेको मेयर नेपालले बताए ।
यता इटहरी उपमहानगरपालिकाले पनि राहत वितरण गर्ने निर्णय गरेको छ । आज बिहान बसेको उपमहानगरको बैंठकले विपन्न परिवारलाई वडामार्फत राहत वितरण गर्ने निर्णय गरिएको हो । त्यसका लागि वडा वडामा लगत संकलन गरिने छ । चामल, दाल, तेल र नुन राहत प्याकेजका रुपमा विपन्न परिवारलाई वितरण गर्ने निर्णय भएको इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद चापागाँइले बताए । बैंठकले स्थानीय तह प्रकोप व्यवस्थापन कोष निर्माण गर्ने निर्णय गरेको छ । सो कोषमा इटहरी उपमहानगरपालिकाका कर्मचारीहरुले ७ दिन बराबरको तलब जम्मा गर्ने निर्णय भएको छ । उपमहानगरका सबै कार्यपालिका सदस्यहरुले एक महिनाको सेवा सुविधा सो कोषमा जम्मा गर्ने निर्णय समेत भएको प्रशासकिय अधिकृत चाँपागाईले बताए । उनका अनुसार उपमहानगरले सोही कोषमा रकम जम्मा गर्न नगरवासीमा अनुरोध समेत गरेको छ ।