झापाः  निरन्तर रुघाखोकी र ज्वरो आएपछि कोरोनाको आशङ्कामा झापाको भद्रपुरका एकै परिवारका दुई जनालाई शनिवार मेची अञ्चल अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् । बैदेशिक रोजगारीबाट फर्किएका झापा भद्रपुर–३ का एकजना युवाको परिवारका दुई सदस्यलाई आइसोलेसनमा राखिएको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
चैत १ गते कतारबाट फर्किएर झापा आएका ती युवकको स्वास्थ्य अवस्था सामान्य छ । तर, उनको परिवारका सदस्य बाबु, आमा, श्रीमती, भाई, बहिनी र सात वर्षीय छोरामा निरन्तर रुघाखोकी र ज्वरो देखिएको हो । तीमध्ये बाबु र भाइलाई अस्पतालको आइसोलेसनमा पठाइएको नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।
यसअघि उनीहरुलाई क्वारेन्टाइनमा पठाउने निर्णय भएको थियो । तर, क्वारेन्टाइनमा रहेका अरु नागरिकलाई थप जोखिम हुने भएपछि परिवारका पाँचजना सदस्यलाई होम क्वारेन्टाइनमा राखेर युवकका बाबु र भाइलाई अस्पताल भर्ना गरिएको हो । ‘परिवारका अरु सबै सदस्यलाई आवश्यक उच्च सतर्कतासहित होम क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको छ’, नगर प्रमुख श्रेष्ठले भने ।
मेची अस्पतालको आरआरटी टीमका कोरोना रोग फोकल पर्सन कूलबहादुर पौडेलले आइसोलेसनमा भर्ना गरिएका दुबै जनाको आइतवार थ्रोट स्वाव परीक्षण गर्न पठाउने तयारी गरिएको बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउने वा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने भन्ने विषयमा भने अझै अन्योल छ । यसअघि आइसोलेसनमा भर्ना भएका एक जनाको थ्रोट स्वाव परीक्षणका लागि झापाबाट काठमाडौँसम्म एम्वुलेन्स पठाइएको थियो । धरानमा परीक्षण सुरु भए सजिलो हुने फोकसल पर्सन पौडेल बताउँछन् । तर, धरानमा कहिलेदेखि परीक्षण हुने हो भन्ने टुङ्गो लागिसकेको छैन ।
क्वारेन्टाइनमा ४४४ जना
कोरोना भाइरसको सङ्क्रमण आशङ्का गरिएकालाई राख्न झापाका १५ स्थानीय तहले शुक्रवारसम्म मुस्किलले ३५१ बेड क्षमताको क्वारेन्टाइन तयार पारेका छन् । २० दिन भन्दाबढी समय खर्चिएर झापाका स्थानीय तहले क्वारेन्टाइनको व्यवस्थापन गरेका हुन् । होम क्वारेन्टाइनमा बस्ने नागरिकहरु क्वारेन्टाइनमा आउने हो भने अहिलेको व्यवस्थापकीय क्षमताले नभ्याउने अवस्था छ ।
झापामा स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टाइनको क्षमता ३५१ छ । जबकि, शुक्रवार साँझसम्म सेल्फ अर्थात होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ४४४ छ । ‘होम क्वारेन्टाइनमा बस्नेहरु आफैँ सचेत छन् भन्ने हाम्रो विश्वास हो’, जनस्वास्थ्य कार्यालयका अधिकृत जीवन चौलागाईले भने, ‘उनीहरुलाई सचेत बनाउने सन्दर्भमा स्थानीय तहले पनि महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।’
जिल्लाका विभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टाइनमा अहिले ७७ जना छन् । होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्या जोड्दा ५२१ हुन्छ । होम क्वारेन्टाइनमा बसेका कतिपयले लापरवाही गरिरहेको स्थानीय तहका जनप्रतिनिधिले बताइरहेका छन् । होम क्वारेन्टाइनमा बस्नेमा अधिकांश बाहिरबाट फर्किएर आउनेहरु छन् । शनिवार विहानसम्म थप कसैलाई आइसोलेसनमा राख्नु नपरेको अधिकृत चौलागाईले बताए ।
यसअघि आइसोलेसनमा राखिएका युवाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । झापामा सातवटा अस्पतालमा कोरोना सङ्क्रमणको आशङ्का गरिएकालाई राख्न २७ वटा आइसोलेसन बेड तयार भएको चौलागाईले जानकारी दिए । मेची अस्पताल, बीएण्डसी, दमक अस्पताल, आम्दा, बिर्तासिटी, एडभान्स र लाइफलाइन अस्पतालमा ती बेड तयार भएका हुन् । ती अस्पतालले आइसोलेसनमा राखिएकाको नमुना सङ्कलन गरी धरान पठाउने छन् । धरानमा कोरोना भाइरस सङ्क्रमण नभए नभएको परीक्षण गर्ने व्यवस्था सरकारले मिलाउने अन्तिम तयारी गरिरहेको छ ।

coronavirus3
के हो क्वारेन्टाइन ?
हेर्दा लक्षणअनुसार सङ्क्रमण नभएको तर सङ्क्रमण हुन सक्ने सम्भावना भएको व्यक्तिलाई सङक्रमण फैलिन सक्ने समयसम्म निगरानी राखिनुलाई क्वारेन्टाइन भनिन्छ । क्वारेन्टाइन व्यक्तिगत वा सामुहिक दुबै किसिमको हुनसक्छ ।
कोरोना भाइसरको सन्र्दभमा १४ दिन बस्नुपर्ने भनिएको छ । यो समयलाई चिकित्सकीय भाषामा इक्युबेसन पिरियड भनिन्छ । कोरोना भाइरस व्यक्तिको शरीरमा प्रवेश गरेको सरदर १४ दिनभित्र लक्षण विकसित हुन्छ । त्यसपछि पनि लक्षण नदेखिने भन्ने चाँहि होइन ।
सेल्फ क्वारेन्टाइन
कोही मानिस कोरोना प्रभावित देशबाट आएको छ तर उसलाई संक्रमणको कुनै पनि लक्षण देखिएको छैन भने पनि पछि गएर लक्षण देखिन सक्छ । त्यस्तो समयमा त्यस व्यक्तिले १४ दिनसम्म घर वा बेग्लै बस्नुपर्छ । अन्य व्यक्तिको सम्र्पकमा आउनु हुँदैन । यसरी अलग्गै बस्नुलाई सेल्फ क्वारेन्टाइन भनिन्छ ।
के हो आइसोलेसन ?
यदि कुनै व्यक्तिमा सङ्क्रमण भएको वा मिल्दोजुल्दो लक्षण देखिएको छ भने उसलाई चिकित्सकको निगरानीमा राखि छुट्टै उपचार गर्नुलाई आइसोलेसन भनिन्छ । यो समयमा बिरामीलाई देखिएको लक्षणको उपचार पनि हुन्छ । आइसोलेसनमा एउटा बेडमा एक जना व्यक्तिलाई मात्र राखिन्छ ।