इटहरीः आइतबारबाट कोरोना भाइरसको स्वाब परिक्षण सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि हुने भएको छ ।
यसअघि काठमाडौंको शुक्रराज सरुवा रोग अस्पतालमा मात्र परीक्षण हुँदै आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारबाटै बीपीमा कोरोना परीक्षण सुरु हुने जानकारी दिएको भएपनि केही सामाग्री नआएकाले प्रतिष्ठानले आइतबारबाट मात्र परीक्षण सुरु हुने भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकाटाले शनिबार नियमित पत्रकार सम्मेलनमा धरानबाट परीक्षणका लागि आवश्यक सबै तयारी सम्पन्न भएकोले शनिबारबाटै परीक्षण सुरु हुने बताएका थिए । प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख डा.संजिवकुमार शर्माले परीक्षणको तयारी पुरा भएको र आइतबारबाट नमुना परीक्षण सुरु हुने जानकारी दिए ।
सुरूवातमा दैनिक १२ जनाको स्वाब परिक्षण गर्नेगरी स्थापना भएको ल्याबको क्षमता अधिकतम् उपयोग गर्दा ३० वटासम्म परीक्षण गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।
ल्याबका लागि तत्काल आवश्यक पर्ने जनशक्ति प्रतिष्ठानमै रहेको छ । स्थापित प्रयोगशालाको परीक्षण पुष्टि गर्न सुरुवातमा पुनःपरीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउने तयारी छ। केही परीक्षणहरू पठाएपछि त्यसमा समानता आएमा यहीँको परीक्षणले मान्यता पाउनेछ ।
धरानबाटै कोरोनाको परीक्षण गर्न प्रदेश सरकारले पनि पहल गर्दैै आएको थियो । प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेको पहलमा परीक्षणको लागि आवश्यक केही सामान भारतबाट ल्याइएको थियो । सरकारले परीक्षण किट पठाएकोले अब परीक्षण हुने भएको हो ।

प्रतिष्ठानले अहिलेसम्म २० जनाको कोरोना परीक्षण गर्न नमुना पठाएकोमा सबैको नेगेटिभ आएको छ । प्रतिष्ठानमा अहिले ७ जनलाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।