धरानः कोरोनाको संक्रमणको जोखिमलाई न्युनिकरणका लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थापना गरेको हेल्प डेस्कको चेकजाँच पछि आइतबार थप १ जनालाई आइसुलेसन वार्डमा भर्ना गरिएको छ ।
हेल्प डेस्कमा चेकजाँचका लागि आएका एक जनालाई कोरोनाको संक्रमणको आशंकामा वार्डमा राखिएको हो । प्रतिष्ठानले दिएको तथ्याङक अनुसार हेल्प डेस्क स्थापना गरिएको करिब १० दिन भित्रमा १० जनालाई आइसुलेसनमा राखेर निगरानी गरिएका मध्ये ६ जना डिस्चार्ज भइसकेका छन भने ३ जना पुराना र १ जना आइतबार भर्ना गरिएका बिरामी उपचारका क्रममा रहेका छन् ।
त्यसै गरि आइतबार ३ जनाको चेकजाँच गर्दा हाल सम्म हेल्प डेस्कले ८० जनाको चेकजाँच गरिसकेको छ । उनीहरु मध्ये ९ जनालाई सरकारी क्वारेन्टाइनमा पठाइएको छ भने ७१ जनालाई सेल्फ क्वारेन्टाइनमा पठाइएको छ । आइतबार चेकजाँचका लागि आएका ३ जना लाई पनि सेल्फ क्वारेन्टाइनमा पठाइएको प्रतिष्ठानले जनाएको छ ।
यता संक्रमणको आशंकमा टेस्टका लागि टेकु पठाइएको १९ वटा टेस्टहरु मध्ये १६ जनामा नेगेटिभ भेटिएको र ३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । प्रतिष्ठानमा अहिले सम्म आएका बिरामीहरुमा कोरोनाको संक्रमण नभेटिएको प्रतिष्ठानको भनाई छ । त्यस्तै चैत्र ४ गते कतार एयरवेजबाट आएका सुनसरीका ४ जनामा पनि कोरोना संक्रमण नदेखिएको जनाएको छ ।