इटहरीः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट पनि कोरोना संक्रमण भए नभएको परिक्षण गर्नका लागि सबै तयारी पुरा भएको छ । कोरोना परिक्षणका लागि तयार गरिएको ल्याबको आज प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले अनुगमन गरेका छन् । मुख्यमन्त्री राईले आवश्यक निर्देशन समेत दिएका छन् । मुख्यमन्त्रीसंगे अनुगमनमा सामाजिक विकास मन्त्री जीवन घिमिरे समेत सहभागी थिए । कोरोना परिक्षणका लागि तयार गरिएको ल्याबको जानकारी लिनका लागि मुख्यमन्त्रीसंगै धरान उपमहानगरका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी पनि सहभागी थिइन् ।
मुख्यमन्त्री राईले वीपीको अन्य तयारीका बिषयमा प्रतिष्ठानका कार्यबहाक उपकुलपति डा. गुरुराज खनालसंग छलफल गरेका थिए । कोरोना परिक्षणका लागि तयार पारिएको ल्याबका बिषयमा प्रतिष्ठानका माक्रोबाइलोजी बिभागका प्रमुख बसुधा खनाल र डाक्टर नारायणराज भट्टराईले ब्रिफिगं गरेका थिए ।
वीपीमा स्थापना भएको कोरोना परिक्षण ल्याबले दैनिक १२ जनाको स्वाब परिक्षण गर्न सक्ने छ । प्रदेशका अन्य अस्पतालहरुमा भएका आरएनए एस्ट्रायक गर्न सकिए वीपीको हालको क्षमता बढाउने सकिने जानकारी माइक्रोबाइलोजी विभागका प्रमुख डा. खनालले मुख्यमन्त्रीलाई जानकारी गराएका थिए । उनले भोलिको अवस्थालाई मध्यनजर गरि क्षमता बढाउन माग गरेका थिए । आरएनए एस्ट्रायक गर्न सकिए वीपीको क्षमता दैनिक ७० देखि ८० जनाको स्वाब परिक्षण गर्न सकिने जानकारी मुख्यमन्त्रीलाई माइक्रोबाइलोजी बिभागले गरेको प्रतिष्ठानका सह प्रवक्ता डा. अशोक ऐरले बताए ।
डा.ऐरका अनुसार आजैबाट वीपीमा कोरोना संक्रमण भए नभएको परिक्षण गर्न सकिन्छ । तर कसैको स्वाब लिइएको छैन् । हिजो लिइएको ३ जनाको रिर्पोट काठमाण्डौं नै पठाइएको छ । सोको रिर्पोट आज साँझसम्म आईपुग्ने डा.ऐरले बताए । प्रतिष्ठानको ल्याबले पहिलो पटक नमूना लिएर परिक्षण गर्ने र त्यसको रिर्पोट आएपछि म्याचका लागि स्वाब टेकु पठाउने सह प्रवक्ता डा. ऐरले बताए । त्यसपछि भने नियमित रुपमा धरानमै कोरोना संक्रमण भए नभएको परिक्षण गरिने उनले बताए ।