धरानः कोरोना भाइरस संक्रमणमा आशंका गरिएकाहरुले नमुना परिक्षणका लागि प्रदेश नम्बर १ बाट ३१ जनाको परिक्षण पठाइएको मध्ये २३ जनामा नेगेटिभ देखिएको प्रदेश आपतकालिन कार्य संचालन केन्द्र विराटनगरले जनाएको छ ।

अन्यको रिपोर्ट आउन बाँकी रहेको छ । केन्द्रले दिएको आइतबार साँझ ६ बजे सम्मको जानकारी अनुसार प्रदेशका विभिन्न स्थानमा रहेको क्वारेन्टाइनमा ४ सय ८७ रहेका छन् भने ८८ जना डिस्चार्ज भइसकेका छन् । तथ्याङक अनुसार क्वारेन्टाइनमा ७१ महिला र ४ सय १६ जना पुरुष रहेका छन् भने डिस्चार्ज हुनेमा ३४ महिला र ५४ पुरुष रहेका छन् ।

विभिन्न चेकजाँच पछि होम क्वारेन्टाइनका लागि फ्रान्सकी १ महिला सहित ७ सय ४३ जना रहेका छन् । केन्द्रका अनुसार प्रदेश भरी १ सय ७५ स्थानमा २ हजार ९ सय ४१ बेडको क्वारेन्टाइन तयार रहेको छ । त्यसै गरि थप उपचारका लागि ४३ स्थानमा २ सय ५७ बेडको आइसोलेसन र ३० स्थानमा ३ सय ७८ बेडको आइसियु तयार गरिएको छ । प्रदेश भरीका तथ्याङक अनुसार प्रदेशका विभिन्न स्थानमा ४ महिला र ७ पुरुष गरी ११ जना आइसोलेसनमा बसेका छन् ।

यता धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले संचालन गरेको हेल्प डेस्कमा आइतबार २१ जनाको स्वास्थ्य चेकजाँच गरिएको छ । उनीहरु सबैलाई सेल्फ क्वारेन्टाइनमा पठाइएको प्रतिष्ठानले जनाएको छ ।

विगत १ साता देखि प्रतिष्ठानमा संचालन भएको हेल्प डेस्कबाट ९८ जनाको स्वास्थ्यजाँच गरी ७९ जनालाई सेल्फ क्वारेन्टाइनमा पठाइएको छ भने ९ जनालाई सरकारी क्वारेन्टाइनमा पठाइएको छ । प्रतिष्ठानको आइसोलेसनमा आइतबार भर्ना भएका १ सहित ४ जना रहेका छन् भने ६ जना डिस्चार्ज भइसकेका छन् । प्रतिष्ठानमा कोरोनाको आशंकामा १९ जनाको स्वाग परिक्षणका लागि पठाइएका मध्ये १६ मा नेगेटिभ देखिएको छ भने ३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।