विराटचोकः कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि मोरङको सुन्दरहरैंचा नगरपालिकाले नगर क्षेत्रभित्र सबै स्वास्थ्य केन्द्रमा पीपीई सेट र स्वास्थ्यकर्मीलाई सुरक्षाका लागि चाहिने सामग्री पठाइसकेको छ । 

शनिबार बसेको कार्यपालिकाको बैठकका विषयमा सञ्चारकर्मीलाई जानकारी गराउँदै सरकारले घोषणा गरेको ‘लकडाउन’का कारण दैनिक ज्याला मजदुरी गरी गुजारा चलाउने, घर जग्गा नभएका, अति विपन्न परिवारलाई खाद्यान्न अभाव भएको अवस्थामा नगरपालिकाले राहत वितरण गर्ने नगर प्रमुख शिबप्रसाद ढकालले बताए ।
यसका लागि प्रत्येक वडाबाट लगत सङ्कलन गर्न सबै वडामा निर्देशन दिइसकेको समेत बताए । राहत वितरण गर्दा ‘लकडाउन’को पालना गर्दै तोकिएका व्यक्तिले मात्र वितरण गर्ने समेत उनले बताए । राहत वितरण गर्दा भीड हुने भएकाले यसलाई अत्यन्तै व्यवस्थित तरिकाले गर्ने उनको भनाइ थियो ।
सरकारले गरेको परिपत्रका आधारमा अब नगरभित्र नगरपालिकाबाहेक अरु कोही व्यक्ति वा सङ्घ संस्थाले राहत वितरण गर्न नपाउने भएका छन् । त्यसरी वितरण गर्नुपरेमा स्थानीय सरकारसँगको समन्वयमा गर्नुपर्ने छ ।