इटहरीः सफल वास्तुविद्का रूपमा परिचित विश्वकर्मा देवताको आज देशभर पूजा गरी उनको सम्झना गरिन्छ । हरेक वर्ष असोज १ गते विश्वकर्माको विशेष पूजाआजा गरिन्छ ।
विश्वकर्माको पूजा गर्ने चलन द्वापर युगमा शुरु भएको मानिन्छ । महाभारतको कथामा बताइएअनुसार भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा गुप्ती द्वारका ‘भेद द्वारका’ बनाई लुकाएका थिए । एकै रातमा समुद्रको बीचमा भेद द्वारकाको निर्माण गरेकाले उनलाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्न थालिएको विश्वास गरिन्छ ।
विश्वकर्माले निर्माण गरेको भेद द्वारका अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको छ ।
भगवान् विश्वकर्मालाई इन्धन, साधन, कलाकारिता तथा औजारका देवताका रूपमा पूजा गरिन्छ । भगवान् विश्वकर्माको जन्मको बारेमा विभिन्न थरी मत पाइन्छ । विशेष गरी ४ मत बढी प्रचलित रहेको शास्त्रमा पाइन्छ । विश्वकर्माले एक हातमा नाप्ने फित्ता (गज), अर्को हातमा डोरी, तेस्रो हातमा कमण्डलु र चौथो हातमा पुस्तक लिएका छन् ।
आज मानिसहरू उद्योग धन्दा, कल कारखान, सवारी साधन, विभिन्न मेसिनरी सामान आदिको पूजा गरी विश्वकर्माको योगदानलाई सम्झने गर्दछन् । विश्वकर्माका मन्दिरहरूमा आज भीड लाग्ने गर्दछ । औजारसम्बन्धी काम हुने विभिन्न स्थानमा अघिल्लै रातदेखि जाग्राम बसी विश्वकर्मालाई सम्झने गरिन्छ भने कतिपय स्थानमा सामुहिक रूपमा भेला भई विश्वकर्माको आराधना गर्ने गरिन्छ ।