विराटचोकः पूर्वाञ्चल ल्युब आयल प्रालि (पीएलओ) ले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड (१९) का सङ्क्रमितको उपचारमा सहयोग होस् भन्ने उद्देश्यले मोरगंको सलकपुरमा ७० बेडको क्वारेन्टाइन निर्माण गरेको छ ।
सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ८ मा रहेको दुर्गादेवी दुलाल सुन्दरहरैंचा स्पोर्टग्राम कभर्ड हलमा ७० बेडको क्वारेन्टाइन निर्माण गरी नगरप्रमुुख शिवप्रसाद ढकाललाई पीएलोका प्रबन्ध निर्देशक भोलेश्वर दुलालले चाबी हस्तान्तरण गरेका छन् ।
चाबी ग्रहण गर्दै मेयर ढकालले आवश्यक परेको खण्डमा सो क्वारेन्टाइनलाई नगरपालिकाले सञ्चालन गर्ने बताए ।
महामारी फैलिएमा र अस्पतालमा बेडको अभाव भएमा सो स्थानबाट सबै सेवा सञ्चालन गर्न मिल्ने गरी क्वारेन्टाइन निर्माण गरिएको समेत निर्देशक दुलालले बताए । कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष खेम न्यौपाने पनि उपस्थित थिए ।

91768823_1560332390781103_3010669313108475904_n
विश्वमा कोरोना सङ्क्रमणले भयावह अवस्था लिने देखिएकाले होम क्वारेन्टाइनमा बस्न समेत दुलालले सबैलाई अनुरोध गरेका छन् ।
यसैगरी, आफ्ना कम्पनीमा कार्यरत कर्मचारीलाई निःशुल्क मास्क, पञ्जा र सेनिटाइजर वितरण गरिएको उनले बताए । वडा नम्बर ८ मा रहेका केही परिवारलाई पनि उनले मास्क वितरण गरेका थिए । मास्क किन्न जान नपाएकालाई बस्तीमै गई मास्क वितरण गरिएको उनले बताए । मास्क वितरणका क्रममा कोरोनाका बारेमा सचेतना जगाउने काम पनि गरिएको उनले बताए ।
पीएलओले यसअघि सुन्दरहरैंचाका विभिन्न सार्वजनिक स्थानमा सेनिटाइजरसहित हात धुने धारा जडान गरेको थियो ।