विराटचोकः सुन्दरहरैंचा नगरपालिका र पूर्वाञ्चल विश्वविद्यालयको संयुक्त व्यवस्थापनमा सञ्चालित गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा रहेको क्वारेन्टाइन र आइसोलेसनमा गरी १ सय ६० जनाभन्दा बढीको उपचार भएको छ ।
नेपाल बाहिरबाट आएका व्यक्तिलाई एम्बुलेन्समा राखेर सुरक्षित तरिकाले स्वास्थ्यजाँचको लागि पठाइएको नगर प्रमुख शिवप्रसाद ढकालले बताए । त्यस क्रममा २ जनामा कोरोना आशङ्का गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइए पनि त्यस्तो सङ्क्रमण नपाइएकाले अहिले घरमै आराम गरिरहेको अस्पतालका निर्देशक विपेश आचार्यले बताए ।
आज आइतबार पूर्वाञ्चल ल्युब आयल प्रालि (पीएलओ) ले वडा नम्बर ८ मा रहेको दुर्गादेवी दुलाल सुन्दरहरैंचा स्पोर्टग्राम कभर्ड हलमा ७० बेडको क्वारेन्टाइन निर्माण गरी नगरप्रमुुख ढकाललाई चाबी हस्तान्तरण गरेको छ । सो क्वारेन्टाइनका लागि आवश्यक पर्ने सामग्री तयारी अवस्थामा राखिएको र सबै सामग्री नगरले व्यवस्था मिलाउने नगर प्रमुख ढकालले बताए ।
नगरप्रमुख ढकालले सबै नागरिकलाई घरमै बसेर सहयोग गर्न आग्रह गरेका छन् । ‘जनता घरभित्र बस्नुभएको छ’, उनले भने, ‘हामी निरन्तर काममा छौँ ।’ घरभित्र बसेर नगरसँग निरन्तर सम्पर्कमा रहन र आफ्ना आवश्यकता जानकारी गराउन उनले अनुरोध गरेका छन् । जनताको मागलाई सम्बोधन गरिने ढकालले बताए ।