धरानः सुख्खा मौसम शुरु भए संगै धरानका केही वडाहरुमा खानेपानीको संकट शुरु भइसकेको छ । खानेपानीको आपुर्ति सहज गराउन खानेपानी बोर्डले टोल टोलमा खानेपानी वितरण गर्न थालेको छ । सुरक्षित व्यवस्थापन नअपनाउँदा यसले झन लकडाउन उल्लंघन गर्न सघाउ पुगेको छ ।
धरानको वडा नम्बर १० स्थित विशाल चौंकमा विगत दुई महिना देखि खानेपानीको अभाव छ । पाइपलाइन बिछ्याउने तयारी हुँदा हुँदै लकडाउन शुरु भयो । तर ट्याङकी मार्फत पानी वितरण गरिरहेका स्थानमा लकडाउन शुरु भए सँगै पानी वितरणको विकल्पहरु नखोजिदा अहिले पनि त्याहाका स्थानीयहरु पानीको लागि दिन कुनुपर्ने त छदैछ, खानेपानी ट्याङ्की आउँदा भिड लगायर पानी थाप्न बाध्य भइरहेका छन् ।
धरान खानेपानी बोर्डले वडा कार्यालयको सहकार्यमा खानेपानी ट्याङकी मार्फत पानी वितरण गर्न थालेको छ । तर कोरोनाको संक्रमणबाट जोगिन सरकारले गरेको लकडाउनको घोषणा उल्लंघन गर्दै पानी वितरण भइरहेको छ । आफै पानी भरेर दिन्छौं भन्दा पनि स्थानीयहरु भिड गरिहाल्ने खानेपानी ट्याङकी चालक लक्ष्मण क्षेत्री बताउँछन् । भिड नगर्न सबैलाई आग्रह गर्दा पनि कसैले नटेर्ने उनी भन्छन् ।
धरानका अधिकांश स्थानमा एशियाली विकाश बैंकको सहयोगमा संचालित खानेपानी परियोजनाले पानी वितरण गरिरहेको छ तर केही वडाहरुमा पानी वितरण गर्न नसक्दा अभावको समय ट्याङ्की मार्फत वितरण गर्नुपर्ने बाध्यता छ । पानीको अभाव भएको स्थानहरुमा जनप्रतिनिधीहरुकै नेतृत्वमा पानी वितरण भइरहेको छ तर भिडलाई नियन्त्रण गर्ने कुनै पनि संयन्त्र अपनाइएको छैन् ।
सरकारले भिड नगर्न आग्रह गरेको छ । एक अर्काबाट करिब १ मिटरको दुरीमा बस्न आग्रह गरेको छ तर धरानको खानेपानी वितरणमा होस् वा तरकारी खरिद गर्न कुनै पनि सुरक्षा नपअनाएको भेटिन्दैन् । धरान १० मा खानेपानी वितरण गर्न वडाअध्यक्ष श्री सुब्बा आफै नै खटिएका थिए । उनले स्थानीयलाई टाढा टाढा बस्न आग्रह गरिरहेका थिए तर पनि स्थानीयहरु बेवास्ता गर्दै भिड लगायर पानीका लागि तछाड मछाड गरिरहेका थिए । वडाअध्यक्ष सुब्बाले भने, ‘भिड कन्ट्रोल गर्न समस्या छ, पाइपबाट पानी वितरण गर्न पाएर लकडाउन उल्लंघन हुँदैन्थ्यो, तर के गर्नु अर्को विकल्प नै छैन् ।’
वडामा अहिले सम्म ६ पटक ट्याङकी मार्फत पानी वितरण गरिसकेको छ । हप्तामा दुई पटक सम्म पानी आउने र बाड्दा बाड्दै सकिएको खण्डमा पानि नै नपाइने भएकाले तछाडमछाड गर्नु परेको स्थानीय बताउँछन् । ट्याङकी बाट पानी वितरण गर्ने स्थानमा के गर्ने भन्ने विषयमा स्थानीय सरकारले योजना बनाउन नसकेको उनीहरुको गुनासो छ ।
विश्वभरी नै फैलिदै गएको कोरोना भाइरसको संक्रमणको जोखिमलाई न्युनिकरण गर्न सरकारले दोस्रो पटक पनि ८ दिनको लकडाउन घोषणा गरेको छ । यस्तो अवश्थामा धाराबाटै पानी वितरण गर्न व्यवस्था मिलाउने पर्ने अध्यक्ष सुब्बाको भनाई छ ।