इटहरीः धनकुटा नगरपालिकाले नगरभित्र रहेका विपन्न सुकुम्बासी, दैनिक ज्यालादारी काम गरी विहान बेलुकाको छाक टार्ने मजदुर र श्रोतविहिन भएर आपत परेका परिवारको वडागत रुपमा विवरण लिई राहत उपलब्ध गराउने घोषणा गरेको छ । त्यसका लागि वडाहरुले लगत संकलन गरि नगरपालिकालाई नगरपालिका सिफारिस गरीपठाउन निर्देशन समेत दिएको छ । आज नगरप्रमुखको अध्यक्षतामा उपप्रमुख, वडाध्यक्ष्य, प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारीहरुको उपस्थितिमा बसेको नगरको आकस्मिक बैठकले यस्तो निर्णय गरेको मेयर कार्यालयका सचिवालय अधिकृत बिकास अधिकारीले जनाकारी दिएका छन् ।
नगरपालिकाले राहत सामग्रीको कम्बो प्याक निम्नानुसार तय गरी वडातहबाट नै वितरणको ब्यवस्था मिलाउने निर्णय समेत गरेको छ । जस अनुसार मन्सुली र पानमारे मन्सुली चामल २५ केजी, मुसुरो दाल २ केजी, सनफ्लावर तेल १ लीटर, आयोनुन १ केजी र हातधुने साबुन १ वटा (डेटोलरलाइफब्याय) सामाग्रीको कम्बो प्याक रहने छ ।

धनकुटा नगरपालिका क्षेत्र भित्र कुनै ब्यक्ति, संघसंस्था लगायत कसैले पनि नगरपालिकाको अनुमती बिना नगदी, जिन्सी सामान राहतको रुपमा कोही कसैलाई उपलब्ध गराउन र राहातको नाममा नगदी जिन्सी संकलन गर्न समेत नपाउने निर्णय गरिएको छ । नगरपालिकाको समन्वयमा एकद्धार प्रणाली मार्फत मात्र राहात उपलब्ध गराउने निर्णय समेत भएको अधिकारीले बताए ।
विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट आफु बच्न र अरुलाई बचाउन धनकुटा नगरपालिकाका १० वटै वडामा विदेशबाट आएका (१५ दिन अगाडी सम्मका) ब्यक्तिहरुको पहिचान गरी वडाहरुले नियमित रुपमा तथांक नगरपालिकामा पठाई निजहरुलाई आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बस्ने ब्यवस्था मिलाई हिड्डुल र सम्पर्कमा कडाई गर्ने र १५ दिन बढी भएकाको स्वास्थ्य अवस्था अनुगमन गरी रिर्पो्टिङ्ग गर्ने निर्णय गरिएको उनले जनाए ।
धनकुटा नगरपालिका वडा नं ६ मा रहेको क्वारेन्टाइनको ब्यवस्थापन विपद् ब्यवस्थापन समितिसँगको समन्वयमा धनकुटा नगरपालिकाले गर्ने निर्णय पनि गरिएको छ ।