इटहरीः प्रदेश १ को कोसी पहाडी क्षेत्रको सबैभन्दा ठुलो जिल्ला सङ्खुवासभाको जिल्ला अस्पतालमा भेन्टिलेटर जडान हुने भएका छन् । अत्यन्तै गम्भीर उपचारको लागी आवश्यक २ वटा भेन्टिलेटर जिल्ला अस्पतालमा जडान हुने भएको छ ।

सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत परियोजनाको भारतीय कम्पनीको सहयोगमा अस्पतालमा भेन्टिलेटर जडान हुने भएको हो । आज दिउँसो १ बजे भारतीय कम्पनीका सिइओ अरुण देमानले प्राविधिक सहयोग हस्तान्तरण गरेपछि अस्पतालमा भेन्टिलेटर जडान हुने भएको हो ।

यो सँगै सङ्खुवासभा जिल्ल अस्पताल भेन्टिलेटर हुने पहिलो जिल्ला अस्पताल बनेको छ । प्रदेश १ का १० पहाडी जिल्लामा अन्त कतैपनि भेन्टिलेटर जडान भएको छैन ।

अस्पताल व्यवस्थापन अध्यक्ष सुमन शाक्यका अनुसार अस्पतालमा ५० बेड रहेका छन् । ७ बेड आइसोलेसनको लागी अलग गरिएको छ । आज अस्पताललाई ८७ लाखको सहयोग आएको र अब थप गरेर १ करोड ५ लाखको सहयोग आउने सहमति भएको शाक्यले प्रदेश पोर्टललाई जानकारी दिए ।