इटहरीः प्रदेशका बिभिन्न जिल्लाबाट कोरोना भाइरस आशंका गरि मंगलबारसम्ममा दश महिला सहित ४६ जनाको नमूना संकलन गरिएकोमा ३० जनाको रिर्पोट नेगेटिभ आएको छ ।

झापाबाट ५ जना, मोरङबाट ७ जना, सुनसरीबाट २५ जना, धनकुटाबाट १ जना, ते¥हथुमबाट २ जना , सोलुखुम्वुबाट २ जना, उदयपुरबाट १ जना र पाँचथरबाट ३ जनाको नमूना संकलन गरि परीक्षणको लागि प्रयोगशालामा पठाइएको थियो । ३० जानको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताए । े १६ जनाको रिपोर्ट भने आउन बाँकी रहेको उनको भनाई छ ।

प्रवक्ता डा. मेहताका अनुसार प्रदेश नं. १ मा मंगलबारसम्म ७ जना आईसोलेसनमा छन् । चार महिला र ३ पुरुषलाई आइसोलेसनमा राखिएको छ । सोलुमा १, उदयपुरमा २, पाँचथरमा ३ र ताप्लेजुङका १ जना आईसोलेसनमा भर्ना भएका छन् । आईसोलेसनमा भर्ना भएकामध्ये २ जना डिस्चार्ज भएको उनले बताए ।

प्रदेश नं. १ मा हाल सम्म ३५ वटा अस्पतालका ३ सय ६१ वटा आईसोलेसन बेड तयार भएको छ । ती अस्पतालहरुको लागि मन्त्रालयले मंगलबार पीपीई सेट २ सय ९७ थान, आईआर थर्म्मिटर १६ थान, सर्जिकल मास्क २२ हजार १ सय ५० थान, ग्लोब्स १८ हजार ५ सय २६ थान, ह्याण्ड सेनिटाईजर ८ सय १८ थान र पीपीई गाउन ३५ वटा वितरण गरेको जनाएको छ ।
प्रदेश नं. १ का स्वास्थ्य संस्थाहरुले फिबर क्लिनिक बन्द गरेको भन्दै अविलम्व सञ्चालन गर्न मन्त्रालयले निर्देशनसमेत दिएको छ । मन्त्रालयले आकस्मिक र फिबर क्लिनिक बाहेकका सेवा बन्द गर्न निर्देशन दिएपनि कतिपय स्वास्थ्य संस्थाहरुले फिबर क्लिनिक पनि बन्द गरेको गुनासो आएपछि अबिलम्व सञ्चालन गर्न मन्त्रालयले निर्देशन दिएको प्रवक्ता डा. मेहताले जानकारी दिए ।