जनकपुरः मुख्यमन्त्री लालबाबु राउतले निर्देशन दिएकै भोलि पल्टै अर्थात आज प्रदेश २ सरकारले कोरोना भाइरसको त्रास रहेको समयमा बिरामीलाई आधारभूत सेवा समेत नदिने निजी अस्पताल तथा नर्सिङ्ग होमलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई पत्राचार गरेको छ ।
मुख्यमन्त्री राउतले बिरामीको उपचार नगर्ने अस्पताललाई कारबाही हुने हिजो बताएका थिए । सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कृष्णहरि पुष्करले प्रमुख जिल्ला अधिकारीहरुलाई पत्र पठाई न्यूनतम व्यवसायीक धर्म, काम, कर्तव्य, जिम्मेवारी र दायित्व समेत निर्वाह नगर्ने अस्पताल तथा नर्सिङ्ग होमलाई तत्काल अनुसन्धानका दायरामा ल्याई कार्वाही प्रकृया अगाडि निर्देशन दिएका हुन् ।
त्यस्ता स्वास्थ्य संस्थाहरुको कानून बमोजिम दर्ता खारेजी गर्नेदेखि लिएर यस महामारी लकडाउनको अवधीभर अर्काे व्यवस्था नहुन्जेलसम्मका लागि नियन्त्रणमा लिई स्वास्थ्य सेवा नियमित संचालन गर्नेरगराउने समेतको कारबाही प्रकृया जिल्लास्तरबाटै अगाडि बढाउन पत्रमा भनिएको छ ।
माथिल्लो निकायको कार्यक्षेत्ररबिषयको हकमा माथिल्लो निकायका पदाधिकारी समक्ष तत्काल सिफारिस पठाउन भनिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय सिंहदरबारसहितका निकायलाई बोद्यार्थ गरिएको पत्रमा आवश्यक सहयोग निर्देशन तथा समन्वयका लागि सादर अनुरोध गरिएको छ ।
निजी अस्पतालहहरुले बिरामीको सामान्य चेकजाँच नै नगरी फर्काउने गरेको र कतिपय अवस्थामा बिरामीहरुसँग सामान्य मानवोचित व्यवहार नगरेको पाइएको प्रदेश सरकारले जनाएको छ । निजी अस्पतालले आधारभूत स्वास्थ्य सेवा समयमा उपलब्ध नगराउँदा काठमाडौं लग्ने क्रममा बिरामीको बाटोमै मृत्यु भएको घट्नाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रदेश सरकारले यस्तो अवस्थामा राज्य केवल मूकदर्शक बस्न नसक्ने जनाएको छ । दुई दिनअघि बीरगंजस्थित नेशनल मेडिकल कलेजसहितका निजी र नारायणी उपक्षेत्रीय अस्पताल समेतले खुट्टा काटिएका एक बिरामीको उपचार गर्न नमानेपछि काठमाडौं लग्ने क्रममा उनको मृत्यु भएको थियो ।